रौतहटमा जन्तीले मस्जिद अगाडि बाजा बजाएकाे विषयमा झडप, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
रौतहट : रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदायबीच विवाद हुँदा झडप भएको छ। झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन्।
फागुन ७ गते राति ९ः५० बजे बौधिमाई नगरपालिका-९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो।
विवाद भएपछि राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए। आज बिहान ९ः१५ बजे फेरी सोही विषयलाई लिएर दुवै पक्षका करीब ५०० को सङ्ख्यामा भेला भएका मानिसहरूबीच दोहोरो झडप भयाे।
स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे टोली परिचालन गरिएको थियो। भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार गरेका छन्।
हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ ।
झडपमा परी थप ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा स्थानीय २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै, डिउटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित २ जना सुरक्षाकर्मी समेत घाइते भएका थिए। सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन्।
घटनालाई साम्य पार्न र विवाद सुल्झाउन आज दिउँसो ३ः०० बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ। स्थानीय प्रशासनले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
फागुन ८, २०८२ शुक्रबार १७:४२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।