खराब लयमा रहेको अष्ट्रेलियामाथि हाबी भएर खेल्ने ओमान कप्तानको दाबी, भन्छन्- ‘यो नै सबैभन्दा सही समय हो’

खराब लयमा रहेको अष्ट्रेलियामाथि हाबी भएर खेल्ने ओमान कप्तानको दाबी, भन्छन्- ‘यो नै सबैभन्दा सही समय हो’

काठमाडौं : जारी टी-२० विश्वकपअन्तर्गत शुक्रबार ओमान र अष्ट्रेलिया आमनेसामने हुँदैछन्।

लगातार तीन खेलमा ठूलो हार बेहोरिसकेको ओमानका कप्तान जतिन्दर सिंहले खराब लयबाट गुज्रिरहेको अष्ट्रेलियालाई हराउने यो नै सबैभन्दा उपयुक्त समय भएको बताएका छन्।

पल्लेकेलेमा हुने यस खेलबाट अष्ट्रेलियाले आफ्नो साख जोगाउने बाहेक अरू केही पाउनु वा गुमाउनु छैन। अष्ट्रेलियाली क्याम्पमा छाएको यही निराशाले ओमानलाई फाइदा पुग्न सक्ने आकलन गरिएको छ।

‘यो हाम्रो लागि शतप्रतिशत राम्रो अवसर हो,’ कप्तान जतिन्दरले भने, ‘हाम्रा खेलाडीहरू यो खेलको पर्खाइमा छन्। टी-२० भनेको लय र क्षणको खेल हो। यदि सही समयमा सही प्रदर्शन गर्न सकियो भने त्यो दिन जुनसुकै टोलीलाई पनि हराउन सकिन्छ। अष्ट्रेलियाको प्रदर्शन अहिले राम्रो छैन... त्यसैले उनीहरूलाई कुल्चिने(हराउने) यो नै सबैभन्दा राम्रो समय हो।’

यस विश्वकपमा ओमानले जिम्बाब्वे, श्रीलंका र आयरल्याण्डसँग भारी अन्तरको हार बेहोरिसकेको छ। यसअघि सन् २०२४ को विश्वकपमा मात्र यी दुई टोली भिड्दा अष्ट्रेलियाले ओमानलाई फराकिलो अन्तरले हराएको थियो। तर, ओमानका खेलाडीहरू यसपटक सकारात्मक रहेको र अष्ट्रेलियाविरुद्ध आफ्नो छाप छाड्न आतुर रहेको कप्तानले बताए।

ओमानको क्रिकेटलाई कसरी थप प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने प्रश्नमा कप्तान सिंहले ‘फ्रेन्चाइज क्रिकेट’ नै मुख्य विकल्प भएको बताए। सन् २०२५ मा ओमानले जम्मा १५ टी-२० र ८ वटा एकदिवसीय खेल मात्र खेल्ने अवसर पाएको थियो।

‘यदि हाम्रो देशमा फ्रेन्चाइज क्रिकेट हुने हो वा हाम्रा खेलाडीले बाहिर गएर फ्रेन्चाइज लिग खेल्ने अवसर पाउने हो भने, त्यसले हाम्रो राष्ट्रिय टोलीलाई ठूलो अनुभव दिनेछ’, उनले भने।

प्रतिस्पर्धी क्रिकेट खेल्न नपाउँदा टोली पछि परेको गुनासो गर्दै उनले थपे, ‘हामीले अन्य देशका टोलीलाई ओमानमा आएर खेल्न धेरैपटक निम्तो दियौं, तर उनीहरूबाट कि त धेरै ढिलो जवाफ आउँछ कि त आउँदै आउँदैन। त्यसैले फ्रेन्चाइज क्रिकेटले मात्र अनुभवको यो खाडल पुर्न सक्छ।’

फागुन ८, २०८२ शुक्रबार ११:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।