कर्णालीलाई बालेनको आश्वासन- 'नेवाः सभ्यता जोगाए झैँ सिञ्जा सभ्यता जोगाउँछौं'

कर्णालीलाई बालेनको आश्वासन- 'नेवाः सभ्यता जोगाए झैँ सिञ्जा सभ्यता जोगाउँछौं'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको गरिबी र पीडालाई राजनीतिक एजेन्डा बनाएर ‘बेच्ने’ काम मात्र भएको टिप्पणी गरेका छन्।

बिहीबार सुर्खेतमा रास्वपाको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको भौगोलिक गहिराइ र जनजीवनको पीडालाई अहिलेसम्मको नेतृत्वले बुझ्न नसकेको आरोप लगाए। 

उनले भने, "कर्णालीको दुःख र गरिबी बेच्ने नेताहरू धेरै आए, तर त्यो गरिबीलाई साँचो अर्थमा बुझ्ने कोही आएनन्। त्यो गहिराइ र पीडा बुझ्न रास्वपाका नेताहरू यहाँ आएका हुन्।"

कर्णालीको बहुमूल्य वस्तु विश्व बजारमा पुगे पनि स्थानीय खाद्यान्नले राष्ट्रिय बजार नपाएकोमा शाहले चिन्ता व्यक्त गरे। उनले स्थानीय उत्पादनको बजारीकरणमा राज्य चुकेको बताए।

शाहका अनुसार- "डोल्पाको सुन जस्तो मानिने यार्सागुम्बा विश्वभरि पुग्ने गरेको तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापासम्म पुग्न सकेको छैन। यहाँको उत्पादनलाई कम्तीमा देशभर पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।"

उनले कर्णालीको पर्यटन, कृषि र आयआर्जन वृद्धि गर्न रास्वपाले काम गर्ने प्रतिबद्धता समेत जनाए। नेपाली र खस भाषाको उद्गमस्थल सिञ्जा सभ्यताको ऐतिहासिक महत्वलाई उजागर गर्दै शाहले यसको जगेर्ना गर्ने योजना सुनाए। उनले काठमाडौं महानगरपालिकाको उदाहरण दिँदै कर्णालीको मौलिक पहिचान जोगाउने दाबी गरे।

उनले भने, "जसरी काठमाडौं महानगरपालिकामा हाम्रो नेवाः सभ्यताको नाचगान, त्यहाँको लिपी, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त-अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौं, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई जोगाएर राख्न चाहने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी।"

उनले सिञ्जा उपत्यकाको आफ्नै भाषा, लिपि, चित्रकला र जात्रा मिलेर बनेको सभ्यतालाई रास्वपाले प्राथमिकता दिने बताए। कर्णालीमा अझै पनि व्याप्त भोकमरी, उच्च बाल मृत्युदर र मातृ मृत्युदर जस्ता गम्भीर समस्या समाधानका लागि रास्वपा तयार रहेको उनको भनाइ थियो।

केही समयअघि आफूले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणालाई स्मरण गर्दै शाहले भने, "कर्णालीका सुइना (सपना) अब हाम्रा सपना हुनेछन्। तपाईंका ती अधुरा सपनाहरू अब हाम्रा सपना हुनेछन्। ती सपना बोकेर अघि बढ्ने यात्राको सुरुवात हामीले आज सार्वजनिक गरेको बाचा पत्रबाट गरेका छौं।" 

फागुन ७, २०८२ बिहीबार १६:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।