समृद्ध नेपालका लागि 'युवाको जोश र अनुभवीको होस'को सहकार्यमा ओलीको जोड

समृद्ध नेपालका लागि 'युवाको जोश र अनुभवीको होस'को सहकार्यमा ओलीको जोड

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि युवा पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको दृष्टिको संयोजन अपरिहार्य रहेको बताएका छन्।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई पार्टीको प्रमुख प्राथमिकताका रूपमा व्याख्या गरे।

देशको सार्वभौमसत्ता र स्वाभिमानलाई सबैभन्दा माथि राख्दै ओलीले भने, "हाम्रो प्राथमिकतामा देश पहिला हो। देशको भूमि र स्वाधीन लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति सुव्यवस्था यी सबैभन्दा माथि छन्, अरू केही पनि छैनन्। हामी निर्माणका पक्षमा छौं। उत्तेजनाको पक्षमा होइनौं। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं।"

समाजमा व्याप्त त्रासलाई अन्त्य गरी शान्ति र सुव्यवस्था कायम गर्ने प्रतिबद्धता जनाउँदै उनले थपे, "त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं। विचारहीन र दिशाहीन स्टण्डबाट टाढा छौं हामी। हाम्रो गन्तव्य स्पष्ट छ- समृद्ध नेपाल, सुखी नेपाली।"

ओलीले देश निर्माणमा पुस्ताहरूबीच द्वन्द्व नभई सहकार्य हुनुपर्नेमा जोड दिए। युवाको जोश र अनुभवीको होस मिलेर मात्र कठिन लक्ष्य हासिल गर्न सकिने उनको तर्क थियो। उनले भने, "यो देश पुस्ताहरुकोबीचको द्वन्द्वले बनेको होइन। द्वन्द्वले बन्दैन पनि चल्दैन पनि। देश बनाउनका लागि युवाको ऊर्जा चाहिन्छ। त्यो जोश, त्यो सपना, त्यो हिम्मतले कठिन पहाड पनि चढ्न सकिन्छ। तर सँगसँगै अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ। त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ।"

युवा र अनुभवको सम्बन्धलाई ‘आगो र उज्यालो’ को प्रतीकका रूपमा प्रस्तुत गर्दै उनले भने, "युवा भन्नु आगो हो, तर आगोलाई दिशा चाहिन्छ, नत्र त्यही आगोले जलाउँछ। अनुभव भन्नु उज्यालो हो। तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ, नत्र उज्यालो आफैँ निभ्छ। ‘आगो र उज्यालो’ दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ।"

आगामी निर्वाचनलाई सामान्य प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गर्दै उनले यसलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कडीका रूपमा चित्रण गरे। उनले भने, "आगामी निर्वाचन पुस्तान्तरको नभई देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह हो। यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष हो।"

उनले एमालेको राजनीति सबै पुस्तालाई जोड्ने माध्यम भएको समेत दाबी गरे। ओलीले निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर तत्काल ११ वटा कामहरू समयसीमा तोकी अगाडि बढाउने संकल्प व्यक्त गरे। एमालेले ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई आफ्नो मुख्य कार्यदिशा बनाएको उनले उल्लेख गरे। 

फागुन ७, २०८२ बिहीबार १५:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।