चीनमा पटाका विस्फोट हुँदा १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट हुँदा १२ जनाको मृत्यु

एजेन्सी : चीनमा चन्द्र नयाँ वर्ष मनाइरहेका बेला भएको एक भीषण विस्फोटमा १२ जनाको ज्यान गएको छ। घटनामा पाँच बालबालिकासहित सर्वसाधारणको मृत्यु भएपछि बिदाका समयमा व्यापक रूपमा प्रयोग हुने आतसबाजीको सुरक्षामाथि फेरि प्रश्न उठेको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने एक सामान्य पसलमा विस्फोट भएको हो। राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोज तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ।

मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेका छन्। सबै पीडितको पहिचान खुलिसकेको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार पसलका मालिक ‘मिस्टर लिन’ र ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहककाे मृत्यु भएकाे हाे। मृतकमध्ये केही व्यक्ति करिब सात सय ८० किलोमिटर टाढाको चेङ्दुबाट आफन्त भेट्न आएका बताइएको छ।

चन्द्र नयाँ वर्षका अवसरमा विशेषगरी ग्रामीण क्षेत्रमा आतसबाजी र पटाका ​​​​​​​पड्काउने परम्परा अत्यन्त लोकप्रिय मानिन्छ। तर सुरक्षा जोखिम र वायु प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षहरूमा चीनका प्रमुख सहरहरूमा यसको प्रयोगमा कडाइ गरिएको छ। ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक रूपमा जारी रहेको छ।

विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। बिदाको समयमा यस्ता घातक घटना दोहोरिने क्रम चिन्ताजनक रूपमा देखिँदै आएको छ। गत आइतबार मात्र पूर्वी जियाङ्सु प्रान्तस्थित एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए।

फागुन ७, २०८२ बिहीबार १२:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।