भरतपुर विमानस्थलमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सुरू : जहाजले इन्धन बोक्नुपर्ने बाध्यता अन्त्य, यात्रु क्षमता बढ्ने

भरतपुर विमानस्थलमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सुरू : जहाजले इन्धन बोक्नुपर्ने बाध्यता अन्त्य, यात्रु क्षमता बढ्ने

चितवन : नेपाल आयल निगमले चितवनको भरतपुर विमानस्थलमा बुधबारदेखि हवाई इन्धन ‘रिफिलिङ’ सेवा औपचारिक रूपमा सुरु गरेको छ।

विमानस्थलमा हवाई उडानको चाप बढ्दै गएपछि निगमले आफ्नै डिपोमार्फत इन्धन सेवा उपलब्ध गराउन थालेको हो।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले रिफिलिङ काउन्टरको शुभारम्भ गर्दै हवाई यात्रालाई थप सहज र असुविधामुक्त बनाउन यो सेवा सुरु गरिएको बताए।

‘भरतपुरमा पछिल्लो समय उडान संख्या र यात्रुको चाप बढेको छ,’ उनले भने, ‘इन्धनकै कारण उडानमा कुनै अवरोध नहोस् र यात्रुले सास्ती भोग्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो।’

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विमानस्थलमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ। यी काउन्टरबाट दैनिक २२ हजार लिटरसम्म हवाई इन्धन उपलब्ध गराउन सकिने क्षमता रहेको छ।

हाललाई निगमको सिनामङ्गलस्थित कार्यालयका ६ जना प्राविधिक कर्मचारी खटाएर सेवा प्रवाह सुरु गरिएको उनले जानकारी दिए।

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरू भएपछि हवाई कम्पनीहरू उत्साहित भएका छन्। बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले इन्धन भर्ने व्यवस्था भएपछि जहाजलाई काठमाडौंबाटै इन्धन बोकेर आउनुपर्ने झन्झट हटेको बताए।

‘पहिले जहाजले काठमाडौंबाटै फर्कने इन्धन पनि बोकेर आउनुपर्थ्यो, जसले गर्दा जहाजको तौल सन्तुलन मिलाउन यात्रु संख्या कटौती गर्नुपर्ने हुन्थ्यो,’ बस्नेतले भने, ‘अब जहाजले यहीँ इन्धन भर्न पाउने भएपछि काठमाडौंबाट आउँदा थप यात्रु ल्याउन सकिनेछ। यसले कम्पनी र यात्रु दुवैलाई फाइदा पुग्नेछ।’

हाल भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखराका लागि दैनिक आठवटा उडान हुँदै आएका छन्। यो सेवाले चितवनको पर्यटन र यातायात क्षेत्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

फागुन ७, २०८२ बिहीबार ०८:१२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।