टी२० विश्वकपमा भारतको लगातार १२औं जित, नेदरल्यान्ड्स १७ रनले पराजित
काठमाडौं : भारतले टी-२० विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै नेदरल्याण्ड्समाथि जित दर्ता गरेको छ। यो जितसँगै भारतले विश्वकपमा लगातार १२ खेल जित्ने कीर्तिमान बनाएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतको सुरुवात सोचे जस्तो रहेन। नेदरल्याण्ड्सका स्पिनर आर्यन दत्तले भारतीय ब्याटरहरूलाई निकै दबाबमा राखे। ओपनर अभिषेक शर्मा यस प्रतियोगितामा तेस्रो पटक शून्य रनमा आउट भए।
अर्का फर्ममा रहेका ब्याटर इशान किशन र तिलक वर्मा पनि सस्तैमा आउट भए। १५ ओभरको खेल सकिँदा भारतको रन रेट ८ भन्दा पनि कम थियो। आर्यन दत्तले ४ ओभरमा मात्र १९ रन दिएर २ विकेट लिँदै भारतलाई निकै कठिन अवस्थामा पुर्याएका थिए।
भारतीय टोली दबाबमा रहेका बेला शिवम् दुबेले खेलको पासा पल्टाए। उनले मात्र ३० बलमा ६६ रनको विष्फोटक पारी खेले।
सुरुमा केही बल सम्हालिएर खेलेका दुबेले पछि नेदरल्याण्ड्सका बलरहरूलाई मैदानको चारैतिर प्रहार गरे। उनले विशेष गरी स्पिनरहरू विरुद्ध आक्रामक ब्याटिङ गरे।
अन्तिम ५ ओभरमा भारतले ७५ रन जोड्यो, जसमा हार्दिक पाण्ड्याले पनि ३ वटा छक्का प्रहार गर्दै महत्वपूर्ण साथ दिए। यसरी भारतले निर्धारित २० ओभरमा १९३ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो।
१९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले तीव्र गतिका बलरहरू जस्प्रित बुमराह र अर्शदीप सिंहको घातक बलिङको सामना गर्नुपर्यो। उनीहरूले सुरुवाती ४ ओभरमा मात्र २२ रन दिएर डच ओपनरहरूलाई खुलेर खेल्न दिएनन्।
त्यसपछि स्पिनर वरुण चक्रवर्तीले नेदरल्याण्ड्सको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे। उनले लगातार दुई विकेट लिँदै ह्याट्रिकको नजिक पुगेका थिए।
तर ह्याट्रिक हुन सकेन। यद्यपि तीन विकेट भने हात पारे। शिवम् दुबेले ब्याटिङमा मात्र नभई बलिङमा पनि विकेट लिँदै भारतको जित पक्का गरे।
फागुन ७, २०८२ बिहीबार ०७:३२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।