बालेनको पपुलिजम र यथार्थवादको हाइब्रिड भाषण शैली
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन शाहले धनगढीमा करिब तीन मिनेटको छोटो तर प्रभावकारी सम्बोधन गरे। सुदूरपश्चिमको स्थानीय लवजबाट भाषण सुरु गरेका उनी पुरै अनौपचारिक सुनिए। उनले आफ्नो सम्बोधनमा पपुलिजम र यथार्थवादको रोचक सम्मिश्रण प्रस्तुत गरे।
चुनावी प्रचारमा जाँदा ‘हुप्प’ परेर बस्ने, नहाँस्ने र सधैँ कालो चस्मा लगाएर आँखा लुकाउने गरेको भन्दै भइरहेको आलोचनाको बालेनले त्यहीँबाट जवाफ दिए। चस्माको प्रसंगलाई उनले कामसँग जोड्दै भने, “आँखा हेर्नु पर्दैन, काम हेर्नुभए हुन्छ।”
उनले जानीजानी परम्परागत राजनीतिको 'व्याकरण' मिच्न खोजेको देखिन्थ्यो। उनले आफूलाई 'टाई-सुट लगाएको र चिल्लो बोल्ने नेता' भन्दा पनि 'कामका लागि जे पनि गर्न सक्ने' एक कार्यकारीका रूपमा प्रस्तुत गरे। उनको यो ‘रफ एन्ड टफ’ शैलीले युवाहरूलाई उत्साहित बनाए पनि बौद्धिक वर्गमाझ भने "कतै उनी उग्र त हुँदै छैनन्?" भन्ने प्रश्न भने उब्जाउँछ।
एजेन्डा र अपनत्व: ‘सुदूर’ बाट ‘सुनजिक’
बालेनले सम्बोधनका क्रममा स्थानीय बासिन्दासँग अपनत्व गाँस्न विशेष शब्दहरूको प्रयोग गरे। प्रदेशको नामलाई व्यङ्ग्य गर्दै उनले भने, “सुदूरलाई सुनजिक बनाउने हाम्रो एजेन्डा हो।” त्यस्तै, “नेपाली माल पाएर चाल नपाउने” जस्ता ठेट उखान प्रयोग गर्दै उनले जनमानससँग सिधा संवाद गरे।
उनले आफ्नो मुख्य एजेन्डा 'शिक्षा र स्वास्थ्य' भएको प्रस्ट पारे। "खल्तीमा पैसा नभएको विपन्नले गुणस्तरीय शिक्षा र उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा," उनले भने। विकासमा हुने राजनीतिक खिचातानीप्रति कटाक्ष गर्दै उनले रास्वपाको सरकारले कुनै दल विशेषको नभई सबै नेपाली हिँड्ने साझा बाटो बनाउने दाबी गरे।
विधिको शासनभन्दा तानाशाही शैलीको संकेत
बालेनले आफ्नो सम्बोधनमा केही यस्ता शब्द प्रयोग गरे जुन एक भावी प्रधानमन्त्रीका लागि 'अराजनैतिक' वा 'अराजक' देखिन सक्छन्। २० वर्षसम्म बाटो नबनेको आक्रोश पोख्दै उनले भने, “रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्यो।”
एक कार्यकारी प्रमुखले योजना कार्यान्वयन बलजफती नभई कानुन बमोजिम गराउनुपर्ने हुन्छ। उनले प्रयोग गरेका ‘बाँधेर’ वा ‘खोरमा जाकेर’ जस्ता शब्दले कानुनी राज्यभन्दा पनि शक्ति र दबाबको शासन झल्काउँछन्। यसले लोकतान्त्रिक पद्धति र विधिको शासनभन्दा तानाशाही शैलीको संकेत दिएको देखिन्छ।
त्यस्तै, नेपालकै प्राकृतिक सौन्दर्य उल्लेख गर्ने क्रममा उनले "स्विजरल्याण्डको बाउ बडीमालिका यहीँ छ" जस्तो शब्दावली प्रयोग गरे। यस्ता शब्दहरू आमसभामा ताली खान त प्रभावकारी हुन्छन्, तर राज्यको उच्च तहको मर्यादित भाषा र कूटनीतिक शिष्टताका दृष्टिले भने यी शब्दहरू गम्भीर देखिँदैनन्।
त्यसैले यदि नेता हुनु भनेको जनताको आक्रोशलाई शब्दमा उतार्नु मात्र हो भने बालेनको भाषा 'सुहाउँदो' छ। तर, यदि नेता हुनु भनेको संविधान, कानुन र मर्यादित प्रणालीको रक्षा गर्नु हो भने, बालेनका कतिपय अभिव्यक्तिहरू लोकतान्त्रिक आचरणभन्दा बाहिर देखिन्छन्।
फागुन ६, २०८२ बुधबार २१:०७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।