विश्वप्रकाशले भने- 'चुनाव जित्नेभन्दा देश सम्हाल्ने विषय मुख्य हो'

विश्वप्रकाशले भने- 'चुनाव जित्नेभन्दा देश सम्हाल्ने विषय मुख्य हो'

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा चुनाव कसले जित्ने भन्नेभन्दा पनि देश कसले सम्हाल्ने भन्ने विषय महत्त्वपूर्ण भएको बताएका छन्। 

बुधबार जनकपुरमा आयोजित कांग्रेसको ‘प्रतिज्ञासभा’लाई सम्बोधन गर्दै उनले देश र मधेश दुवै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे। शर्माले अहिलेको चुनाव सामान्य प्रतिस्पर्धा मात्र नभई पद्धति जोगाउने बहस भएको बताए। 

"हामी जान्दछौं- यो बेला देश दुखिरहेको छ, मधेश दुखिरहेको छ," उनले भने, "अहिले मूल प्रश्न कसलाई जिताउने भन्ने होइन, यो परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।"

कांग्रेसका लागि जित-हार नौलो विषय नभएको भन्दै उनले समाजको सद्भाव कायम राख्ने शक्तिलाई जिताउनुपर्नेमा जोड दिए। शर्माले भने, "कांग्रेसले जिन्दगीमा धेरै चुनाव जितेको छ, धेरै हारेको पनि छ। जित-हार हाम्रो लागि नौलो कुरा होइन। तर आजको प्रश्न पद्धति जोगाउने कि हार्ने भन्ने हो।"

शर्माले अबका दिनमा कांग्रेसले नागरिकका दुःख र पीडाको एमआरआई गरेर समाधान गर्ने दाबी गरे। “मधेस, पहाडलाई कहाँ-कहाँ दुखेको छ ? क-कसलाई कस्तो पीडा परेको छ ? नेपाली कांग्रेस विशेष महाधिवेशनबाट एमआरआई गरेर समाधानको संकल्पसहित मधेस आएको छ,” उनले भने।

उनले सुशासन स्थापित गर्न आग्रह र पूर्वाग्रहबाट माथि उठेर साझा संकल्प गर्नुपर्नेमा जोड दिए। कांग्रेस मध्यमार्गी सोचका साथ अगाडि बढेको भन्दै उनले सबै पुस्ता र दलहरूलाई साझा दृष्टिको विकास गर्न आग्रह गरे।

मुलुकको सुशासन र नागरिकका मुद्दा सम्बोधन नभए भविष्यमा थप कडा विद्रोह हुने उनले चेतावनी दिए। भदौ २४ अघिको परिस्थितिलाई स्मरण गर्दै शर्माले भने, "यदि सबै ठिक भएको भए मुलुकमा यत्रो आन्दोलन हुँदैनथ्यो। जे जस्ता ज्वलन्त मुद्दामा विद्रोह र विस्फोट भयो त्यसलाई जरामा पुगेर सम्बोधन गर्न सकिएन भने आज जेनजीको नेतृत्वमा विद्रोह भयो, अबको १० वर्ष पछाडि अल्फाको नेतृत्वमा विद्रोह भोग्नु पर्ने अवस्था आउन सक्दछ।"

शर्माले पुरानै ढर्राबाट नयाँ परिणाम सम्भव नभएको भन्दै कांग्रेस बदलिएर आएको बताए। सोही क्रममा उनले जनताको आवाज सम्बोधन गर्न गगन थापाको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे। "सत्तामा बस्नेहरू बदलिएनन् भने त्यसको अर्थ हुँदैन। जसले आफूलाई बदल्न सक्छ उसले देश बदल्न सक्छ। कांग्रेस बदलिएर आएको छ। अब देश बदल्ने छ," उनले थपे, "जनताको आवाजलाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा सरकार बन्नुपर्छ।"

फागुन ६, २०८२ बुधबार १८:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।