गगनको प्रतिज्ञा- 'सहकारी ठगलाई छोड्दैनौं, पाँच वर्ष खेर फाल्दैनौं'
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षको समय खेर नफाली मुलुकको समस्या समाधानमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्।
बुधबार जनकपुरमा आयोजित ‘प्रतिज्ञापत्र सार्वजनिक’ कार्यक्रममा उनले बदलिएको कांग्रेसले विगतको गौरवलाई आत्मसात् गर्दै भविष्यको स्पष्ट मार्गचित्रका साथ काम गर्ने दाबी गरे।
थापाले भने, "पाँच वर्ष कांग्रेसले अब खेर फाल्न जान दिँदैन। यो बदलिएर आएको कांग्रेस हो, यसले हिजोको दिनमा गौरव गर्छ, कांग्रेसको इतिहासमा गौरव गर्छ, तर हिजोमा अड्किएर बस्दैन। आजको समस्या समाधान गर्छ र भोलिको उज्यालो तर्फ देशलाई डोर्याउँछ, यो जिम्मा लिएर भन्नुस्। यो कांग्रेसले सक्छ, यसले सम्हाल्छ जिम्मा दिएर भन्नुस्।"
उनले मधेस प्रदेशको वित्तीय संरचना खलबलिएको टिप्पणी गर्दै मिटरब्याज, लघुवित्त र सहकारीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताए। उनले मधेसमा वैकल्पिक वित्तीय संरचना निर्माणको आवश्यकता औँल्याए। थापाले भने, "सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौं।"
यस्तै, कृषि क्षेत्रको विकासबारे चर्चा गर्दै उनले मधेसको उत्पादनले सिंगो देशलाई खुवाउन सक्ने संकल्प प्रस्तुत गरे। "सिंगो देशलाई पेटभरी खुवाउन सक्ने उत्पादन हाम्रो मधेसले गर्छ, त्यो गर्ने संकल्प र योजना बनाएर आएका छौं," उनले थपे।
थापाले मधेससँग आफ्नो भावनात्मक सम्बन्ध रहेको चर्चा गर्दै आफू मधेसको सपना बोकेर आएको बताए। उनले भने, "मधेसको नेता हुन होइन, मधेसको बेटा हुन आएको हुँ। मेरो नशामा मधेसको रगत छैन, ढाँट्दिन। मेरो छातीमा दुर्गानन्द झाको सपना छ।"
कांग्रेसले मधेसबाट राष्ट्रपति बनाइसकेको उल्लेख गर्दै उनले अब मधेसकै व्यक्तिलाई प्रधानमन्त्री बनाउने समय आएको धारणा राखे। उनले भने, "अब मधेसकै प्रधानमन्त्री बनाउने हो।"
आफ्नो स्वास्थ्यमन्त्रीको कार्यकालमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अझै अधुरो रहेको उल्लेख गर्दै उनले अब कोही पनि नेपालीले उपचार खर्चकै अभावमा डराउनु नपर्ने स्थिति सिर्जना गर्ने दाबी गरे। "मेरो सपना अधुरै रहेको छ। त्यो सपना पूरा गर्ने समय आएको छ," उनले भने, "उपचार गर्दा एक पैसा खल्तीबाट तिर्न नपर्ने नेपाल बनाउँछौँ।"
मुलुकमा व्याप्त कुशासन, गरिबी र बेरोजगारी हटाउन कांग्रेस सक्षम रहेको जिकिर गर्दै उनले अब देशमा हिंसा र मुठभेड हुन नदिने प्रतिबद्धता जनाए। "कांग्रेसले सबैलाई सम्हालेर, सबैलाई समेटेर अब देशमा कतै गोली चल्न नदिएर, सिंहदरबार जल्न नदिएर एउटा परिणाममा पुर्याउँछ भन्ने विश्वास लिएर घरघर जानुस्," थापाले कार्यकर्तालाई निर्देशन दिँदै भने।
फागुन ६, २०८२ बुधबार १८:२२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।