दलीयकरणको जालो तोड्ने र योग्यलाई अवसर दिने कांग्रेसको 'प्रतिज्ञा'

दलीयकरणको जालो तोड्ने र योग्यलाई अवसर दिने कांग्रेसको 'प्रतिज्ञा'

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै देशको अवस्था बदल्ने र समुन्नत नेपाल बनाउने योजना अगाडि सारेको छ। बुधबार जनकपुरधाममा आयोजित ‘प्रतिज्ञासभा’मार्फत सभापति गगन थापाले  प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।

प्रतिज्ञापत्रमा 'अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुने' उल्लेख छ।कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी र विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने मुख्य एजेन्डा अघि सारेको छ।

प्रतिज्ञापत्रमा उल्लेख छ, “अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ।” 

स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत योग्य नागरिक नियुक्त गर्ने वातावरण बनाउने र भ्रष्टाचार एवं ढिलासुस्ती अन्त्यका लागि ‘डिजिटल नेपाल’को अवधारणा साकार पार्दै नागरिकले घरमै बसेर सरकारी सेवा पाउने व्यवस्था मिलाउने वाचा गरिएको छ।

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कांग्रेसले 'पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल' शीर्षकअन्तर्गत कृषिलाई आधुनिक र मर्यादित बनाउने प्रतिबद्धता जनाएको छ। प्रतिज्ञापत्रमा लेखिएको छ, “नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चितता समेत पाउनेछन्।”

राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्ने तथा नेपाली कृषि उत्पादनलाई विश्व बजारमा ‘ब्रान्ड’ बनाउने कांग्रेसको लक्ष्य छ।

स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै कांग्रेसले विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने प्रतिज्ञा गरेको छ। शिक्षातर्फ प्रि-प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र नवप्रवर्तनसँग जोड्ने उल्लेख छ। 

युवाहरूका लागि स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई मातृभूमिको पुनर्जागरणमा जोड्ने नीति लिइने प्रतिज्ञापत्रमा उल्लेख छ।

परराष्ट्र नीतिका सम्बन्धमा नेपाललाई विश्व समुदायमा सार्वभौम र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने तथा छिमेकी मुलुकहरूसँग समानता र आपसी सम्मानका आधारमा सम्बन्ध राख्ने कांग्रेसले जनाएको छ। पर्यटन, ऊर्जा, सूचना प्रविधि र पूर्वाधारको विकास गर्दै खुला एवं पर्यावरणमैत्री अर्थतन्त्र निर्माण गर्ने संकल्प गरिएको छ।

जनकपुरमा संक्षिप्त अंश सार्वजनिक गरिएको यस प्रतिज्ञा पत्रको विस्तृत विवरण भने भोलि बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिनेछ। कार्यक्रममा सभापति थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम समेत रहेको छ। 

उपसभापति विश्वप्रकाश शर्माका अनुसार ४ पृष्ठको प्रतिज्ञापत्रले आगामी पाँच वर्षको खाका मात्र नभई सुन्दर नेपालको दीर्घकालीन दृष्टिकोण समेत प्रस्तुत गरेको छ।

फागुन ६, २०८२ बुधबार १७:४९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।