फागुन २१ को निर्वाचनका लागि पूर्व राजा ज्ञानेन्द्रको सुझाव 'पहिला सर्वपक्षीय सम्मेलन अनि निर्वाचन'

फागुन २१ को निर्वाचनका लागि पूर्व राजा ज्ञानेन्द्रको सुझाव 'पहिला सर्वपक्षीय सम्मेलन अनि निर्वाचन'

काठमाडौँ : सरकार र दलहरू फागुन २१ को निर्वाचनको अन्तिम तयारीमा रहेकै बेलामा पूर्व राजा ज्ञानेन्द्र शाहले निर्वाचनका लागि पहिला सर्वपक्षीय सम्मेलन हुनुपर्ने सर्त सार्वजनिक गरेका छन्। फागुन ७ का लागि भिडियो सन्देश जारी गर्दै उनले मतदानको अन्तिम तयारी भइरहेको बेलामा निर्वाचनका लागि नयाँ सर्त अगाडि सारेका हुन्।

उनले प्रजातन्त्रमा प्रतिनिधि चयनका लागि आवधिक निर्वाचन सामान्य भए पनि अहिले जटिल अवस्था रहेकाले राष्ट्रिय सहमति बनाएर मात्र निर्वाचनमा जानु उपर्युक्त हुने उनले बताए। उनले अहिले मुलुक असामान्य अवस्थामा गुज्रिरहेको अवस्था रहेको र सिंगै मुलुक अस्थिरतामा फस्दा देशको अस्मिता नै संकटमा रहेको नागरिकले अनुभव गरेको उनको तर्क छ।

उनले संघर्षको आडमा परिवर्तन गरियो तर नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने बेला भएको भन्दै अहिले एक नेपालीको अर्को नेपालीलाई बैरी ठान्ने संस्कृतिलाई बढवा दिएको र नेपाल इतिहासकै दर्दनाक अवस्थामा पुगेको उनको तर्क छ। उनले परस्पर घृणाको राजनीतिको अन्त्य गर्नुपर्ने बताए।

प्रजातन्त्रमा संविधान अनुसार चल्नु उपर्युक्त हुने र आफ्नो प्रतिनिधि छनौटका लागि आवधिक निर्वाचन सामान्य भए पनि राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचनको प्रक्रियामा जान उपर्युक्त हुने र निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न राष्ट्रिय सहमतिको समझदारी बनाएर जाँदा मात्र निर्वाचनले सही बाटो समात्ने उनले तर्क गरेका छन्।

अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने दुखद परिस्थिति रहेको र आलोपालो खाऊँ भन्ने प्रवृत्ति बढेको भन्दै उनले सबैभन्दा पहिला देशको स्वार्थलाई प्राथमिकता दिनु पर्ने उनले बताए। उनले आफ्नो धरातलीय यथार्थता अनुसारको व्यवस्था अपनाउनु पर्ने र खराब व्यवस्था फाल्नुपर्ने बताए।

फागुन ६, २०८२ बुधबार १७:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।