बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्युपछि तनाव, अश्रुग्यास प्रहार
बनेपा : अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपामा बुधबार बिहान टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।
बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन्।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीय बासिन्दाले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्। आगजनी र प्रदर्शनका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्थिति नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
अहिले बनेपा बजार क्षेत्रमा सुरक्षा सतर्कता निकै बढाइएको छ भने ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आन्दोलित समूहले राजमार्ग ठप्प पारेर प्रदर्शन जारी राखेका कारण सवारी आवागमन प्रभावित भएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र स्थिति सामान्य तुल्याउने प्रयास भइरहेको जनाएको छ।
फागुन ६, २०८२ बुधबार १४:२६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।