नेपाल लाइफले ल्यायो नेपालकै पहिलो ‘नारी सुरक्षा जीवन बीमा योजना’
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा विशेष सुविधाहरू सहितको ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।
‘एकै योजना बहु-लाभ’ नाराका साथ ल्याइएको यो योजना नारीहरूको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षामा केन्द्रित छ।
यस योजनामा मृत्यु भएमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ भने नेपाली बीमा क्षेत्रमै पहिलो पटक गर्भावस्थाको स्याहार र जटिलतालाई यसमा समेटिएको छ।
गर्भावस्था प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि १० हजार रुपैयाँ र ११ वटा गम्भीर जटिलताहरूमध्ये कुनै देखिएमा १ लाख रुपैयाँ एकमुष्ट उपलब्ध गराइनेछ भने बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा (मुनाफा सहित) प्रदान गरिनेछ।
१८ देखि ६५ वर्ष उमेर समूहका महिलाहरू सहभागी हुन सक्ने यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रुपैयाँ तोकिएको छ। अधिकतम बीमाङ्क भने आयस्रोतका आधारमा निर्धारण हुनेछ।
बीमितले यस योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता र बीमाशुल्क छुट जस्ता थप ऐच्छिक सुविधाहरू पनि लिन सक्ने कम्पनीले जनाएको छ। नारीहरूको आर्थिक सुरक्षा र आत्मनिर्भरतालाई सुनिश्चित गर्न यो योजना ल्याइएको कम्पनीको भनाइ छ।
फागुन ६, २०८२ बुधबार १४:१४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।