जेनजी आन्दोलनका घाइते ‘सुरेन्द्र’माथि नाबालिग बलात्कारको अभियोग, १७ वर्षीया किशोरीले देखाएकी थिइन् नागरिकता
काठमाडौं : नाबालिग किशोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकीलको कार्यालय, ललितपुरले ४५ वर्षीय सुरेन्द्र महर्जन उर्फ ‘कोब्रा’ विरुद्ध मुद्दा दायर गरेको छ।
ललितपुर महानगरपालिका वडा नं. ५ मानभवनका महर्जनमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको दाबी गर्दै १० देखि १२ वर्षसम्म कैद र जरिवानाको माग गरिएको छ।
सामाजिक सञ्जालदेखि होटलको बन्द कोठासम्म
अभियोगपत्रमा उल्लेख भएअनुसार पीडित किशोरी कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा हुन्।
पीडित र प्रतिवादी सुरेन्द्र महर्जनबीच साथीमार्फत गत साउन १ गते चिनजान भएको थियो। सामाजिक सञ्जालमा कुराकानी बाक्लिँदै गएपछि सुरेन्द्रले किशोरीलाई भेट्न बोलाउने गरेका थिए।
पीडितले आफ्नो उमेर १७ वर्ष भएको बताए पनि सुरेन्द्रले नपत्याएपछि उनले नागरिकताको फोटोसमेत पठाएको अभियोगपत्रमा उल्लेख छ।
चिनजान भएको करिब एक १५ दिनपछि साउन १६ मा सुरेन्द्रले पीडितलाई ललितपुरको भैँसेपाटीस्थित ‘आशा होटल एण्ड रेस्टुरेन्ट’ मा बोलाएका थिए। त्यहाँ ललाईफकाई होटलको कोठा नं २०४ मा लगेर पहिलो पटक जबरजस्ती शारीरिक सम्पर्क राखेको पीडितको बयान छ।
त्यसपछि सुरेन्द्रले पीडितलाई पटक-पटक भैंसेपाटीस्थित विभिन्न होटल तथा क्याफेमा बोलाउने र शारीरिक सम्पर्क राख्ने गरेको अनुसन्धानबाट खुलेको छ।
आन्दोलनको बहाना र गोली काण्ड
उता प्रतिवादी सुरेन्द्र महर्जनले भने बयानका क्रममा आफूलाई २०८२ भदौ २४ गते मानभवन सडकमा जेन-जी आन्दोलन हेर्न जाँदा बायाँ काँधमा गोली लागेको बताएका छन्।
उनले बयानमा भनेका छन्, ‘२४ गते जेनजी आन्दोलन हेर्न आउँदा मानभवन सडकमा मलाई मेरो बायाँ काधमा गोली लागि बीएण्डबी अस्पतालमा उपचार हुँदाको क्रममा मलाई तीन दिनसम्म कुरुवा बस्न आएकी थिइन्। गोली लागि घाइते भएकोले हिँडडुल गर्न नसक्ने भएकोले सो समयमा निजलाई मैले करणी गर्ने कुरा नै भएन।’
तर, अभियोगपत्रमा पेश गरिएका प्रमाणहरूले उनको यो तर्कलाई कमजोर बनाएको देखिन्छ। होटलको रेकर्ड र अन्य कागजातहरूले उनीहरूबीचको सम्बन्ध र भेटघाट निरन्तर रहेको पुष्टि गरेको सरकारी वकिलको दाबी छ।
पीडितले जेनजी आन्दोलनताका बलात्कार भएको भन्ने जाहेरी दिएकी छैनन्। जेनजी आन्दोलनपछि असोज ११ गते बलात्कार गरेको उनको जाहेरीमा उल्लेख छ।
मोबाइल फुटाइदिएपछि सुरु भएको अर्को अध्याय
घटनाक्रम अघि बढ्दै जाँदा असोज ११ गते सुरेन्द्रले पीडितलाई जावलाखेलस्थित ‘हंग्री ट्रीट’ रेस्टुरेन्टमा बोलाए। त्यहाँ उनले पीडितको मोबाइल खोसेर भुइँमा बजारी फुटाइदिएका थिए। पीडितका अनुसार सुरेन्द्रले उनलाई कुटपिट समेत गरेका थिए।
मोबाइल फुटाइदिएको भोलिपल्ट असोज १२ गते बिहान ९ बजे सुरेन्द्रले ‘नयाँ मोबाइल किनेको छु, लिन आऊ’ भन्दै भैँसेपाटीस्थित ‘ग्यारेज क्याफे’ मा बोलाए। त्यहाँ पुगेपछि सुरेन्द्रले पीडितलाई क्याफेको बाथरुममा तानेर लगी बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।
पीडितले प्रतिकार गर्न खोज्दा पनि सुरेन्द्रले जबरजस्ती गरेको र घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिएको पीडितको भनाइ छ। पीडितले इलामस्थित आफ्नो घर पुगेपछि आमालाई घटनाबारे जानकारी गराएपछि मात्र यो विषय प्रहरीसमक्ष पुगेको हो।
होटल सञ्चालक र क्याफेवालाको बयान
आशा होटलकी सञ्चालिका कौशिला तिवारीले दिएको बयानले पनि पीडितको दाबीलाई बल पुर्याएको छ। उनले प्रहरीलाई उपलब्ध गराएको होटलको गेस्ट रजिस्टर कार्डहरूमा सुरेन्द्र महर्जन र युवतीको नाममा विभिन्न मितिमा कोठा बुक भएको देखिन्छ।
होटल सञ्चालिका तिवारीले भनेकी छन्, ‘निजहरू जोडीमा दिउँसो १२ बजेतिर आउँथे र ४ बजेतिर फर्किन्थे। एउटै कोठामा बस्ने गरेका थिए।’ उनले सुरेन्द्रले नाबालिकालाई प्रलोभनमा पारी होटलमा ल्याउने गरेको कुरा पछि मात्र थाहा पाएको बताएकी छन्।
महर्जन र पीडित युवती साउन १६, १८, २०, २१ र २८ गते उनको होटलमा आएर बसेको समेत उनले पुष्टि गरेकी छन्। यसका साथै भदौ ११ र १६ अनि असोज ११ गते पनि उनीहरू सोही होटलमा आएर कोठा बुक गरेर बसेका थिए।
त्यस्तै, ग्यारेज क्याफेका सञ्चालक विवेक थापाले पनि २८ सेप्टेम्बरमा पीडित र प्रतिवादी आफ्नो क्याफेमा आएको र माथिल्लो तलामा बसेको पुष्टि गरेका छन्। उनले पछि बुझ्दा क्याफेको बाथरुममा बलात्कार भएको थाहा पाएको बयान दिएका छन्।
साथीको नामबाट धम्की
घटना लुकाउन सुरेन्द्रले आफ्ना साथी क्रिश मार्क श्रेष्ठको फेसबुक म्यासेन्जर प्रयोग गरी पीडितलाई धम्कीपूर्ण सन्देश पठाएको र फोन गरेर गालीगलौज गरेको पनि खुलेको छ।
क्रिश मार्क श्रेष्ठले प्रहरीसँगको बयानमा उक्त आईडी आफ्नै भएको स्वीकार्दै साथीको रूपमा सुरेन्द्रलाई सहयोग गरेको तर बलात्कारको घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्।
पाटन अस्पतालमा गरिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको मलद्वार वरपर चोटपटक देखिएको उल्लेख छ। यसले पीडितमाथि अस्वाभाविक र जबरजस्ती यौनजन्य क्रियाकलाप भएको संकेत गर्ने अभियोगपत्रमा उल्लेख छ।
पीडित प्रभाव प्रतिवेदन अनुसार, घटनापछि पीडित किशोरीमा गम्भीर मानसिक, शारीरिक र सामाजिक असर परेको छ। उनी मानसिक तनावका कारण औषधि सेवन गरिरहेकी छन् र दैनिक जीवनयापनमा समेत कठिनाइ भोगिरहेकी छन्।
अभियोग र सजायको माग
जिल्ला सरकारी वकिल कार्यालयले पेश गरेको अभियोगपत्रमा सुरेन्द्र महर्जनले १७ वर्ष १० महिना १४ दिनकी किशोरीलाई डर, त्रास र प्रलोभनमा पारी इच्छा विपरीत पटक-पटक बलात्कार गरेको पुष्टि भएको दाबी गरिएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (घ) बमोजिम १६ देखि १८ वर्ष उमेर समूहकी महिलालाई बलात्कार गरेमा हुने १० देखि १२ वर्षसम्मको कैद सजायको माग गरिएको छ।
फागुन ६, २०८२ बुधबार १४:०५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।