अमेरिकामा जापानले ५५० अर्ब डलर लगानी गर्ने, राष्ट्रपति ट्रम्पद्वारा ठूला परियोजनाको घोषणा

अमेरिकामा जापानले ५५० अर्ब डलर लगानी गर्ने, राष्ट्रपति ट्रम्पद्वारा ठूला परियोजनाको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको ऐतिहासिक लगानी सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु भएको घोषणा गरेका छन्।

सम्झौताअनुसार जापानले सन् २०२९ को जनवरीसम्म अमेरिकामा कुल ५५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

यो सम्झौता गत वर्षको जुलाईमा भएको थियो। सम्झौताअनुसार अमेरिकाले जापानी कार र अन्य सामानमा लगाउँदै आएको भन्सार शुल्क (ट्यारिफ) घटाउने शर्तमा जापानले अमेरिकामा ठूलो लगानी गर्न सहमति जनाएको हो।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ५५० अर्ब डलरको यो प्रतिवद्धतामध्ये पहिलो चरणका ३६ अर्ब डलर बराबरका तीन ठूला परियोजना सुरू भइसकेको जानकारी दिए।

लगानीले जर्जिया राज्यमा महत्वपूर्ण खनिज पदार्थहरूको उत्पादन सुरु गरिनेछ। यसमा सिन्थेटिक डायमण्ड लगायतका खनिजहरू पर्दछन्, जसले अमेरिकाको अन्य देशमाथिको निर्भरता घटाउन मद्दत गर्नेछ।

टेक्सस राज्यमा कच्चा तेल निर्यातका लागि डीपवाटर बन्दरगाह र तरल प्राकृतिक ग्यास आयोजना निर्माण गरिनेछ। यसले अमेरिकी ऊर्जा निर्यातलाई विश्व बजारमा थप बलियो बनाउनेछ।

ओहायो राज्यमा प्राकृतिक ग्यासबाट चल्ने एउटा विशाल विद्युत उत्पादन केन्द्र (पावर प्लान्ट) स्थापना गरिनेछ।

राष्ट्रपति ट्रम्पले यी परियोजनाहरू निकै ठूलो स्तरका भएको र यिनलाई सफल बनाउन आफ्नो भन्सार कर नीतिले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

उनले भने, ‘अमेरिकाले फेरि निर्माण र उत्पादन सुरु गर्दैछ र जित्दैछ। यो अमेरिका र जापानका लागि ऐतिहासिक समय हो।’

गत हप्ता वासिङ्टनमा जापानका उद्योग मन्त्री रयोसी अकाजावा र अमेरिकी वाणिज्य मन्त्री हवार्ड लुटनिकबीच भएको भेटमा पहिलो चरणको लगानीलाई तीव्रता दिने सहमति भएको थियो।

फागुन ६, २०८२ बुधबार १०:१७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।