विश्वभर युट्युबमा गम्भीर समस्या : एकैपटक तीन लाख बढी गुनासो, नेपालमा कस्तो छ अवस्था?
काठमाडौं : आज बिहानैदेखि भिडियो प्लेटफर्म युट्युबमा गम्भीर प्राविधिक समस्या देखिएको छ।
विशेषगरी अमेरिका, युरोप र बेलायतका प्रयोगकर्ताहरूले युट्युब चलाउन नपाएको गुनासो गरिरहेका छन् भने नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरूमा यसको असर आंशिक रूपमा मात्र परेको छ।
इन्टरनेट सेवा र वेबसाइटहरूको अवस्थाबारे जानकारी दिने ‘डाउन डिटेक्टर’का अनुसार नेपाली समयअनुसार बुधबार विहान ७ बजे युट्युबमा समस्या आएको रिपोर्ट गर्नेहरूको सङ्ख्या एक्कासी बढेको थियो।
तथ्याङ्क अनुसार एकैपटक ३ लाख २६ हजार १२५ भन्दा बढी प्रयोगकर्ताले युट्युब नचलेको रिपोर्ट गरेका छन्। सबैभन्दा बढी समस्या मोबाइल एप प्रयोगकर्तालाई परेको छ। कुल गुनासोमध्ये ५६ प्रतिशत समस्या एपमा देखिएको छ। आएका गुनासोमध्ये १७ प्रतिशतले वेबसाइटमा र १६ प्रतिशतले लगइनमा गर्न समस्या भोगेको गुनासो गरेका छन्।
नेपालमा केही समय युट्युब अवरुद्ध भए पनि अहिले सेवा सुचारु अवस्थामा छ। यद्यपि, भिडियो लोड हुन समय लाग्ने र ‘बफरिङ’ हुने समस्या फाट्टफुट्ट देखिएको छ।
भारत र नेपाल एउटै क्षेत्रीय सर्भरअन्तर्गत पर्ने र यो समस्या मुख्यतया पश्चिमी देशका सर्भरहरू वा गुगलको केन्द्रीय अल्गोरिदम प्रणालीमा आएको त्रुटि हुनसक्ने भएकाले यहाँ कम प्रभाव परेको प्राविधिकहरूको अनुमान छ।
केही प्रयोगकर्ताले युट्युबको होमपेज खाली देखिने तर सर्च गर्दा वा सिधा लिंकबाट खोल्दा भिडियो चल्ने गरेको अनुभव सुनाएका छन्।
अमेरिकाका न्युयोर्क, लस एन्जलस, सिकागो जस्ता ठूला सहरहरूका साथै बेलायत, जर्मनी र फ्रान्समा युट्युब पूर्ण रूपमा ठप्प प्रायः भएको छ।
डाउनडिटेक्टरको कमेन्ट सेक्सनमा प्रयोगकर्ताहरूले आक्रोश र व्यंग्यात्मक प्रतिक्रिया दिइरहेका छन्। कसैले ‘इन्टरनेट नै बिग्रियो कि’ भनेर प्रश्न गरेका छन् भने कसैले यसलाई ‘डिजिटल संसारको अन्त्य’ भन्दै ठट्टा गरेका छन्।
गुगलले यसलाई ग्लोबल इन्सिडेन्टका रूपमा लिएको छ। प्रारम्भिक जानकारी अनुसार यो कुनै साइबर आक्रमण नभई युट्युबको ब्याक-इन्ड कोड अपडेट गर्दा आएको प्राविधिक गडबडी हुन सक्ने बताइएको छ।
गुगलको प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको जनाएको छ, यद्यपि सेवा पूर्ण रूपमा कहिले सामान्य हुन्छ भन्ने यकिन समय बताइएको छैन। अष्ट्रेलिया र जापानमा भने सेवा बिस्तारै सामान्य बन्दै गएको रिपोर्ट प्राप्त भएको छ।
फागुन ६, २०८२ बुधबार ०९:०२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।