स्कटल्यान्डविरुद्धको जितसँगै कुशल, दीपेन्द्र र सोमपालको नाममा कीर्तिमानै कीर्तिमान

स्कटल्यान्डविरुद्धको जितसँगै कुशल, दीपेन्द्र र सोमपालको नाममा कीर्तिमानै कीर्तिमान

काठमाडौं : टी-२० विश्वकप अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले ७ विकेटको जित मात्र हासिल गरेन, आफ्ना खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमार्फत आधा दर्जन नयाँ राष्ट्रिय कीर्तिमानहरू समेत कायम गरेको छ।

वानखेडे स्टेडियममा भएको खेलमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नेपालको टी-२० विश्वकप इतिहासमा पुराना रेकर्ड तोड्दै नयाँ इतिहास रचेका हुन्।

पहिलो विकेटका लागि ऐतिहासिक साझेदारी
ओपनर कुशल भुर्तेल र आसिफ शेखको जोडीले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाएको छ।

पुरुष टी-२० विश्वकपमा नेपालको तर्फबाट पहिलो विकेटका लागि भएको यो नै अहिलेसम्मको उच्च साझेदारी हो। यसअघि यी दुई बीचको ३७ रनको साझेदारी नै ओपनिङमा सर्वाधिक थियो।

एकै इनिङमा सर्वाधिक छक्का
स्कटल्यान्डविरुद्धको खेलमा कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४ वटा छक्का प्रहार गरे। योसँगै उनी टी-२० विश्वकपको एउटा इनिङमा नेपालका लागि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन्।

यसअघि यो रेकर्ड ३ छक्कासहित दीपेन्द्रसिंह ऐरीको नाममा थियो।

बाउन्ड्रीबाट सर्वाधिक रन
म्यान अफ द म्याच बनेका दीपेन्द्रसिंह ऐरीले आफ्नो ५० रनको इनिङमा बाउन्ड्री (चौका र छक्का) बाट मात्र ३४ रन जोडे।

यो नेपालका लागि टी-२० विश्वकपको एकै इनिङमा बाउन्ड्रीबाट जोडिएको सर्वाधिक रन हो। यसअघि सुवास खकुरेलले बाउन्ड्रीबाट ३० रन जोडेको कीर्तिमान थियो, जसलाई ऐरीले तोडेका हुन्।

विश्वकपमा सर्वाधिक अर्धशतक
दीपेन्द्रसिंह ऐरी टी-२० विश्वकपमा नेपालका लागि दुई वा सोभन्दा बढी अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

उनले सुवास खकुरेलको नाममा रहेको रेकर्ड तोड्दै यो सफलता हासिल गरेका हुन्। यो उनको विश्वकपमा दोस्रो अर्धशतक हो।

सोमपाल बने सर्वाधिक विकेट लिने बलर
बलिङतर्फ सोमपाल कामीले नयाँ उचाइ हासिल गरेका छन्। स्कटल्यान्डविरुद्ध ३ विकेट लिएसँगै उनी पुरुष टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन्।

विश्वकपमा उनको कुल विकेट संख्या १० पुगेको छ। यसअघि यो रेकर्ड ८ विकेटसहित दीपेन्द्रसिंह ऐरीको नाममा थियो।

फागुन ५, २०८२ मंगलबार २३:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।