मुस्ताङमा एक महिलाको शङ्कास्पद मृत्यु, अनुसन्धानको घेरामा श्रीमान्

मुस्ताङमा एक महिलाको शङ्कास्पद मृत्यु, अनुसन्धानको घेरामा श्रीमान्

मुस्ताङ : मुस्ताङको घरपझोङ गाउँपालिका-२, मार्फास्थित आफ्नै डेरामा ३३ वर्षीया महिला मध्यरातमा शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।

रसुवा जिल्ला उत्तरगङ्गा गाउँपालिका-५ स्थायी घर भई घरपझोङ गाउँपालिका-२ मार्फास्थित विश्व लालचनको घरमा डेरा गरी बस्ने शान्ति गुरुङ सोमबार राति करिब १२ बजे आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

गोर्खा बारपाक गाउँपालिका-१ माइत भएकी गुरुङ मृत फेला परेको सूचनापछि जिल्ला प्रहरीबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए।

प्रहरीले मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल जोमसोम पठाएको छ। मृतक गुरुङका श्रीमान् २३ वर्षीय अश्विन थापामगरलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

सो घटनाका सम्बन्धमा प्रहरीमा किटानी जाहेरी परेकाले अभियुक्तमाथि अनुसन्धान गर्न दश दिनको म्याद थप भइसकेको प्रहरीको भनाइ छ।
 

फागुन ५, २०८२ मंगलबार २१:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।