हवाई फायर गरी लागुऔषध कारोबारका आरोपी पक्राउ

हवाई फायर गरी लागुऔषध कारोबारका आरोपी पक्राउ

सुर्खेत : सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’मार्फत तीन जना लागुऔषध कारोबारका आरोपीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजङ्ग बुढ्थापाले मंगलबार बिहान चिङ्गाड गाउँपालिका-४, का ४७ वर्षीय ललित चन्दलाई हवाई फायर गरेर नियन्त्रणमा लिनुपरेको जानकारी दिए।

उनको साथबाट ३६ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। प्रनाउ बुढ्थापाका अनुसार सोमबार बेलुका ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका-८ मा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोलीले चन्दलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो। 

“उसलाई हामीले नियन्त्रण गर्न खोज्दा हामीलाई नै उल्टै हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषधसहित भाग्न खोज्यो,” डिएसपी बुढ्थापाले भने, “त्यसपछि प्रहरी टोलीले बल प्रयोग स्वरूप एक राउण्ड हवाई फायर गरेको हो।”

चन्दलाई आज मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बुढ्थापाले बताए। त्यसैगरी सोमबार राति नै ९ बजेतिर ८ ग्राम ६ मिलिग्राम लागुऔषधसहित अन्य दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-४ की २० वर्षीया माया नेपाली र २८ वर्षकी सङ्गीता विक रहेका छन्। उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका-११ बाट नियन्त्रणमा लिइएको डिएसपी बुढ्थापाले बताए। 

फागुन ५, २०८२ मंगलबार २१:१२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।