नयाँ वर्षमा फिल्मको लर्को : थपियो तुलसी घिमिरेको ‘पहाड’, चार फिल्म पहिले नै लाइनमा
काठमाडौं : तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘पहाड’ वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले हालै आगामी २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शनको घोषणा गरेको हो।
नेपालमा भइरहेका युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाडका अवस्था र त्यसले निम्त्याउने सामाजिक र आर्थिक समस्या चित्रण गरिएको निर्माण पक्षको भनाई छ। निर्देशक घिमिरेले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पस्किन लागेको बताए।
उनका अनुसार आगामी वैशाख १ गते फिल्मका वितरकसँग छलफल गरेर प्रदर्शन मिति तय गरेको बताए। ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले खिचेका हुन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्।
भाग्यरत्न फिल्मसको ब्यानरमा निर्माण भएको 'पहाड'मा विपिन कार्की, सुनिल थापा, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ। यसै फिल्मबाट निर्देशक घिमिरेले आफ्नो कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीको रूपमा डेब्यु गराएका छन्।
साथै प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले काम गरेकी छन्। उनले प्रोडक्सन डिजाइनरको जिम्मेवारी लिएकी छन्। फिल्ममा निर्देशक घिमिरेले फिल्म ‘बलिदान’पछि मदनकृष्ण श्रेष्ठ र ‘चिनो’पछि सुनिल थापासँग काम गरेका हुन्।
साथै यसमा फिल्ममा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशकका रूपमा रहेका छन्। रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माता रहेको। फिल्मको नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मसले वितरणको जिम्मा लिएका छन्।
तर चैत २७ गते नयाँ वर्षको अवसर चार वटा फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। रेखा थापाको लगानीमा निर्माण भएको फिल्म ‘३६ को आँकडा’, बिराज भट्टको ‘राम नाम सत्य’, सागर लम्साल (बले)को ‘डल्लेले इन्ट्री मार्यो’ र ‘काजी’ रहेका छन्। यहि मितिमा अन्य केहि फिल्म पनि प्रदर्शन हुने चर्चा छ। त्यस हिसाबले नयाँ वर्षमा आधा दर्जन फिल्म प्रदर्शनमा आउने देखिन्छ।
फागुन ५, २०८२ मंगलबार १६:०५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।