क्यानडालाई हराउँदै न्युजिल्याण्ड सुपर-८ मा, क्यानडासहित तीन टोली बाहिरिए

क्यानडालाई हराउँदै न्युजिल्याण्ड सुपर-८ मा, क्यानडासहित तीन टोली बाहिरिए

एजेन्सी : न्युजिल्याण्ड जारी आईसीसी पुरुष टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ।

मंगलबार चेन्नईमा भएको खेलमा क्यानडालाई सहजै पराजित गर्दै न्युजिल्याण्डले अघिल्लो चरणको यात्रा सुरक्षित गरेको हो। दुई वर्षअघि समूह चरणबाटै बाहिरिएको न्युजिल्याण्डले यसपटक भने शानदार पुनरागमन गरेको छ।

न्युजिल्यान्डसँगको हारसँगै क्यानडासहित समूहका अन्य दुई टोली अफगानिस्तान र युएई पनि बाहिरिएका छन्। यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर-८ मा पुगेको थियो।

क्यानडाले दिएको १७४ रनको लक्ष्य न्युजिल्याण्डले मात्र १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। सुरुवाती ४ ओभरमा दुवै ओपनरलाई सस्तैमा गुमाएपछि न्युजिल्याण्ड केही दबाबमा देखिएको थियो। तर, ग्लेन फिलिप्स र रचिन रविन्द्रले विष्फोटक साझेदारी गर्दै टोलीलाई जित दिलाए।

फिलिप्सले मात्र २२ बलमा अर्धशतक पूरा गरे। उनले कुल ३६ बल खेल्दै ४ चौका र ६ छक्काको मद्दतले अविजित ७६ रन बनाए। त्यस्तै, रचिन रविन्द्रले ५९ रनको योगदान दिए। न्युजिल्याण्ड समूह ‘डी’बाट सुपर-८ मा पुग्ने दोस्रो टोली बनेको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि १९ वर्षीय युवराज सामराले कीर्तिमानी शतक प्रहार गरेका थिए। उनले ६५ बलमा ११० रन बनाए, जसमा ११ चौका र ६ छक्का सामेल थिए।

सामरा विश्वकपको इतिहासमा (टी-२० वा एकदिवसीय) शतक प्रहार गर्ने विश्वकै सबैभन्दा कान्छो खेलाडी बने। यी बायाँ हाते ब्याटरले क्यानडालाई २० ओभरमा १७३/४ को बलियो स्थितिमा पुर्याएका थिए। यद्यपि, उनको यो ऐतिहासिक इनिङ्स टोलीलाई जिताउन भने पर्याप्त भएन।

नियमित कप्तान मिचेल सेन्टनर अस्वस्थ भएपछि यो खेलमा न्युजिल्याण्डको नेतृत्व डारिल मिचेलले गरेका थिए। प्रतियोगिता अन्तर्गत आजै अन्य खेलहरूमा जिम्बावेले आयरल्याण्डसँग कान्डीमा खेल्दैछ भने अर्को खेलमा नेपाल र स्कटल्याण्ड भिड्दैछन्।

फागुन ५, २०८२ मंगलबार १४:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।