१८ महिने कार्यकाल सक्दै गर्दा मोहम्मद युनुसले नेपाल र ‘सेभेन सिस्टर्स’बारे के भने?

१८ महिने कार्यकाल सक्दै गर्दा मोहम्मद युनुसले नेपाल र ‘सेभेन सिस्टर्स’बारे के भने?

एजेन्सी : बंगलादेशका अन्तरिम सरकारका मुख्य सल्लाहकार ड. मुहम्मद युनुसले नेपाल र भुटानसहितको क्षेत्रलाई समेटेर एउटा विशाल ‘क्षेत्रीय आर्थिक हब’ बनाउनुपर्ने बताएका छन्।

१८ महिनाको कार्यकालपछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने पूर्वसन्ध्यामा राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै नोबेल पुरस्कार विजेता युनुसले यस्तो बताएका हुन्।

सोमबार ढाकामा आयोजित विशेष सम्बोधनका क्रममा डा. युनुसले बंगलादेशको भौगोलिक अवस्थितिलाई दक्षिण एसियाको आर्थिक समृद्धिको प्रवेशद्वारका रूपमा व्याख्या गरे।

उनले बंगलादेशका सामुद्रिक बन्दरगाहहरू केवल बंगलादेशको मात्र नभई छिमेकी मुलुकहरूको साझा समृद्धिको आधार हुनुपर्नेमा जोड दिए।

आफ्नो सम्बोधनमा ड. युनुसले भने, ‘हाम्रो खुला समुद्र बंगलादेशका लागि मात्र होइन, यो विश्व अर्थतन्त्रसँग जोडिने एउटा खुला ढोका हो। नेपाल, भुटान र सेभेन सिस्टर्स(भारतका उत्तर-पूर्वी राज्यहरू)लाई बंगलादेशसँग जोडेर यस क्षेत्रलाई आर्थिक समृद्धिको केन्द्र बनाउन सकिने ठुलो सम्भावना छ।’

उनले नेपाल र भुटानजस्ता भूपरिवेष्ठित राष्ट्रहरूलाई बंगलादेशका बन्दरगाहहरूमार्फत विश्व बजारमा पहुँच पुर्याउन सके यस क्षेत्रकै व्यापारिक र औद्योगिक परिदृश्य बदलिने उल्लेख गरे।

डा. युनुसका अनुसार बंगलादेशले आफ्ना बन्दरगाहहरूको क्षमता अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन भित्र्याउन ठुला सम्झौताहरू अघि बढाइसकेको छ।

‘नेपाल, भुटान र यस क्षेत्रलाई समेट्ने गरी आर्थिक क्षेत्र, व्यावसायिक सम्झौता र भन्साररहित बजारको व्यवस्था गर्न सकेमा यो क्षेत्र एउटा विश्वव्यापी उत्पादन केन्द्रका रूपमा उदय हुनेछ’, उनले भने।

आफ्नो कार्यकालमा बंगलादेशले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित र प्रभावकारी बनाएको दाबी गर्दै युनुसले आगामी निर्वाचित सरकारले पनि यस क्षेत्रीय सहकार्यको मार्गलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

उनले रेलमार्ग, सडक सञ्जाल र जलमार्गको विकासमार्फत नेपाल र भुटानसँगको कनेक्टिभिटीलाई अझ सुदृढ बनाउनु पर्ने सुझाव समेत दिए।

फागुन ५, २०८२ मंगलबार १३:२४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।