पाकिस्तानमा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानमा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

इस्लामाबाद : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १० जना सैनिकको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

बीबीसी उर्दूका अनुसार, बाजौर जिल्लाको मलंगी क्षेत्रमा विष्फोटक पदार्थले भरिएको एउटा गाडीले भवनमा ठक्कर दिँदा ठूलो विष्फोट भएको थियो।

उक्त भवनमा पहिले मदरसा सञ्चालनमा थियो, तर पछि यसलाई सुरक्षा चौकीमा परिणत गरिएको थियो।

प्रहरी अधिकारीहरूले सुरक्षा चौकीमा भएको यस आत्मघाती हमलामा कम्तीमा १० जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेका छन्।

मृत्यु हुनेमा एक प्रहरी र ‘फ्रन्टियर कोर’का नौ जना सैनिक रहेका छन्। भग्नावशेषबाट अझै शवहरू निकाल्ने क्रम जारी रहेको बताइएको छ।

एक अधिकारीले बीबीसी उर्दूलाई बताएअनुसार अज्ञात व्यक्तिहरूले विष्फोटक पदार्थले भरिएको गाडी फ्रन्टियर कोरको चौकीमा लगेर ठोक्काएका थिए।

घटनाबारे पाकिस्तानी सेनाले हालसम्म कुनै औपचारिक बयान दिएको छैन। यद्यपि, खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले यस आत्मघाती हमलाको निन्दा गरेका छन्।

फागुन ५, २०८२ मंगलबार ०७:५५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।