कारागारबाट भागेका सात जना पक्राउ
काठमाडौं : गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का काठमाडौंका कारागारबाट भागेका सात जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। खोजतलासपछि नियन्त्रणमा लिइएका उनीहरूलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो।
काठमाडौंस्थिति विभिन्न कारागारमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरू आन्दोलनको समयमा फरार भएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार परिसर र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले फरार कैदीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका-१ का ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका-४ का २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेपलान्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका-२ का २७ वर्षीय भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका-३ का २० वर्षीय अनिस मगर तथा भारत घर भएका २६ वर्षीय रोशन साह रहेका छन्।
भट्टराईले भने, “काठमाडौंस्थित कारागारहरूमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका निज कैदीबन्दीहरू गत भदौ २४ गते कारागारबाट फरार रहेकामा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयहरूबाट खोजतलास गर्ने क्रममा पक्राउ गरी सम्बन्धित कारागार कार्यालय दाखिला गरिएको छ।”
पक्राउ परेकाहरूमा तेन्जिङबहादुर तामाङ डाँका चोरी, प्रितम गुरुङ चोरी, बबिता तामाङ मानव बेचबिखन तथा ओसारपसार, विक्रम नेपाली नकवजनि चोरी, भुवन तामाङ लागुऔषध, अनिस मगर ज्यान मार्ने उद्योग तथा रोशन साह लागुऔषधको कसुरमा कैद भुक्तान गरिरहेका थिए।
फागुन ४, २०८२ सोमबार २२:१२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।