रामकुमारी झाँक्रीको चुनावी खर्च कति ?

रामकुमारी झाँक्रीको चुनावी खर्च कति ?

काठमाडौं : राष्ट्रियसभा सदस्यमा निर्वाचित एमाले नेतृ रामकुमारी झाँक्रीले निर्वाचन कार्यालयमा आफ्नो चुनाव खर्च पेस गरेकी छन्। दाङस्थित निर्वाचन कार्यालयमा उनले पेस गरेको विवरणअनुसार चुनावमा कुल २ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ।

विवरणअनुसार झाँक्रीको चुनावी अभियानको क्रममा सबैभन्दा ठूलो हिस्सा 'गोष्ठी र कार्यकर्ता परिचालन' मा खर्च भएको छ। उनले यस शीर्षकमा मात्रै १ लाख २० हजार रुपैयाँ खर्चेकी छन्, जुन उनको कुल चुनावी खर्चको ५० प्रतिशतभन्दा बढी हुन आउँछ।

खर्चको दोस्रो मुख्य क्षेत्र सवारी साधन र इन्धन देखिएको छ। उम्मेदवार झाँक्रीले सवारी साधनका लागि ६० हजार र इन्धनका लागि १५ हजार गरी कुल ७५ हजार रुपैयाँ यातायात व्यवस्थापनमा खर्च गरेकी छन्। 

यसैगरी, निर्वाचनका क्रममा कार्यालय सञ्चालनका लागि १५ हजार, प्रतिनिधि परिचालनमा १० हजार र प्रचार प्रसार सामग्री एवं विद्युतीय माध्यमबाट गरिने प्रचार प्रसारमा १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

पारदर्शिताको अभ्यास गर्दै झाँक्रीले मतदाता नामावली खरिद र विविध शीर्षकमा ३/३ हजार रुपैयाँ खर्च भएको जानकारी दिएकी छिन् भने ढुवानी शीर्षकमा कुनै पनि खर्च नभएको देखाएकी छन्।

झाँक्रीले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ अनुसार निर्वाचन खर्च विवरणलाई निर्वाचन आयोगमा पेस गरेको उल्लेख गरेकी छन्। झाँक्रीले निर्वाचन आयोगद्वारा निर्धारित सीमा र आचारसंहिताभित्रै रहेर चुनावी गतिविधि सञ्चालन गरेको बताएकी छन्। 

गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा उनी लुम्बिनी प्रदेशबाट निर्वाचित भएकी थिइन्। 

फागुन ४, २०८२ सोमबार १८:०८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।