फिल्मी क्षेत्रमा फर्किए रामकृष्ण : गायनमा सफल, अब निर्माणमा परीक्षण
काठमाडौं : गायक रामकृष्ण ढकाल झण्डै तीन दशकपछि फिल्म निर्माणको माध्यमबाट फिल्मी क्षेत्रमा फर्किएका छन्। २८ वर्षअघि फिल्म 'आशीर्वाद'मार्फत पर्दामा देखिएका ढकाल यस पटक पर्दा पछाडि अर्थात् निर्माताको रूपमा फिल्मी क्षेत्रमा फर्किएका हुन्।
ढकालको लगानीमा नयाँ चलचित्र ‘मंगली मालती’ निर्माण भइरहेको छ। आफू अभिनीत पहिलो फिल्म 'आशीर्वाद' व्यावसायिक रूपमा सफल भए पनि लामो समय गायनमै व्यस्त रहेका ढकालले यस पटक फिल्म निर्माणमा रुचि देखाए। यसअघि विभिन्न फिल्ममा पार्श्व गायन र अभिनय गरे पनि निर्माताका रूपमा भने यो उनको नयाँ कदम हो।
फिल्ममा ढकाल स्वयंले अभिनय भने गरेका छैनन्। फिल्ममा अहिलेका व्यस्त कलाकारहरू विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाहसहितको ठूलो टिम रहेको छ। साथै सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतको पनि अभिनय रहने बताइएको छ।
कलाकारले आफ्नै अभिनय रहने फिल्ममा लगानी गर्दा त्यसको अर्थ र रहर स्पष्ट देखिन्छ। तर, अभिनय र परिवार दुवैको संलग्नता नरहेको फिल्ममा ढकालले लगानीकर्ताको रूपमा मात्र उभिनुले धेरैमा जिज्ञासा पैदा गरेको छ।
फिल्म क्षेत्रमा पछिल्लो समय 'पूर्णबहादुरको सारङ्गी' जस्ता फिल्मले उत्साहजनक व्यापार गरिरहेको र बक्स अफिसमा नयाँ रेकर्ड कायम भइरहेको सन्दर्भमा ढकाल फिल्ममा लगानी गर्न हौसिएका त होइनन् ? समय क्रममा उनले यस प्रश्नको जवाफ देलान्। तर, गायनमा सफल ढकालका लागि यो नयाँ व्यावसायिक परीक्षण हुनेछ।
फागुन ४, २०८२ सोमबार १७:२६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।