सुदूरपश्चिमका सात जिल्ला कारागारमा सेना खटाइयो
महेन्द्रनगर : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ।
तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ।
सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका अनुसार वाहिनीअन्तर्गत रहेका कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा रहेका कारागारको सुरक्षामा सेना तैनाथ भइसकेको छ। बैतडीमा भने कारागार निर्माणाधीन अवस्थामा रहेकाले सेना खटिनु नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
त्यसैगरी नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डाअन्तर्गतका डोटी, कैलाली र अछाममा समेत कारागार सुरक्षार्थ सेना खटिएको छ। सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप सेना खटिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले यहाँका सात जिल्लाका कारागार, विनमास्थल सुरक्षा र धनगढीस्थित आयल निगमको डिपोमा सेनाले सुरक्षा दिइरहेको जानकारी दिए।
“बैतडी र बाजुराको कारगार भवन निर्माणाधीन छन्,” प्रहरी उपरीक्षक बोहराले भने, “गेटा विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, डोटी र बझाङ विमानस्थलमा सुरक्षाका लागि सेना खटिइसकेको छ।”
त्यसैगरी, निर्वाचन सुरक्षालाई लक्षित गरी केही सातायता नेपाली सेना सुदूरपश्चिमभर खटिएको छ। सेनाको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा गस्तीलगायत सुरक्षा प्रबन्ध गरिरहेको सेनाले जनाएको छ।
फागुन ४, २०८२ सोमबार १५:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।