गाउँपालिकाको नयाँ कार्यक्रम : युवालाई सरकारी जागिरको 'कोचिङ'

गाउँपालिकाको नयाँ कार्यक्रम : युवालाई सरकारी जागिरको 'कोचिङ'

भोजपुर : रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा आकर्षित गर्न लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सुरु गरेको छ। गाउँपालिकाले ४५ दिने विशेष प्रशिक्षण कार्यक्रममार्फत स्थानीय युवाहरूलाई निजामती र शैक्षिक क्षेत्रमा प्रवेश गराउने उद्देश्यले निःशुल्क विशेष तयारी कक्षा सुरु गरेको हो।

स्थानीय तहबाटै लोक सेवा तथा शिक्षक सेवासम्बन्धी जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्य रहेकाे गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए। यस कार्यक्रमले युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने उनकाे विश्वास छ। 

“अध्ययनरत तथा आवश्यक योग्यता पुगेका विद्यार्थीलाई लक्षित गरेर लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भने, “युवालाई रोजगारीसँगै दिगो जीविकोपार्जनका आधारमा जोड्ने लक्ष्य हाम्रो हो। तयारी कक्षाले सरकारी सेवामा प्रवेश गर्ने अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ।”

स्थानीय तहले सञ्चालन गरेको यस्तो कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ।

भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्राथमिकतामा राख्दै सोही क्याम्पस परिसरमा कक्षा सञ्चालन भइरहेको छ। हाल उक्त तयारी कक्षामा ५० विद्यार्थी सहभागी छन्। सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको बताएका छन्।

 गाउँपालिकाले आगामी दिनमा आवश्यकता र उपलब्धिका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। 

फागुन ४, २०८२ सोमबार ११:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।