बंगलादेशमा अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा भारी वृद्धि, युनुस फेरि पेरिस नै फर्किने तयारीमा

बंगलादेशमा अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा भारी वृद्धि, युनुस फेरि पेरिस नै फर्किने तयारीमा

एजेन्सी : बंगलादेशमा राजनीतिक परिवर्तनसँगै नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा भएको वृद्धि र नयाँ सरकारको वैदेशिक नीतिका विषयमा विभिन्न चर्चा सुरू भएका छन्।

शेख हसिनाको सरकार ढलेपछि गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको पाइएको छ। तथ्याङ्क अनुसार, सरकारका प्रमुख मोहम्मद युनुसको सम्पत्ति एक वर्षमा ११ प्रतिशतले बढेर साढे १२ करोड रुपैयाँ पुगेको छ। 

अन्तरिम सरकारका २१ मध्ये १८ जना मन्त्रीहरूको सम्पत्ति बढेको छ। सम्पत्ति बढ्नेमा दोस्रो नम्बरमा आवास मन्त्री अदिलुर रहमान छन्।

यसैबीच, सूचना प्रविधि मन्त्री फैज अहमद तैयबमाथि भ्रष्टाचार र विदेशी कम्पनीलाई फाइदा पुऱ्याएको आरोप लागेपछि उनी नेदरल्याण्ड्स फर्किएका छन्। भ्रष्टाचारका पुराना मुद्दा फिर्ता लिएका युनुस अब पुनः पेरिसमा बसोबास गर्ने तयारीमा रहेको बताइएको छ।

मंगलबार हुने नयाँ प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोह ढाकास्थित संसद् भवनको साउथ प्लाजामा आयोजना गरिनेछ। यस समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरिए पनि उनको कार्यव्यस्तताका कारण भारतका तर्फबाट लोकसभा सभामुख ओम बिरला र विदेश सचिव विक्रम मिस्री सहभागी हुने भएका छन्।

नवनिर्वाचित प्रधानमन्त्री रहमानले आइतबार साँझ कट्टरपन्थी दल जमात-ए-इस्लामीका प्रमुख शफिक्कुर रहमानसँग भेटवार्ता गरेका छन्। संसद्लाई सुचारु रूपमा सञ्चालन गर्न दुई दलबीच सहमति भएको बताइएको छ।

यता, ढाकास्थित चिनियाँ र पाकिस्तानी दूतावासहरूमा पनि कूटनीतिक सक्रियता बढेको छ। पाकिस्तानले रहमान सरकारसँग सम्बन्ध सुधारका लागि काम सुरु गरिसकेको छ।

तारिक रहमान बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। सन् २००७ मा भ्रष्टाचारको आरोप लागेपछि उनी लामो समय लण्डनमा निर्वासित जीवन बिताएर हालै स्वदेश फर्किएका हुन्।

रहमानले बंगलादेशको हितलाई सर्वोपरि राख्ने र चीनलाई विकासको मुख्य साझेदार मान्ने स्पष्ट पारेका छन्। शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने विषय कानुनी प्रक्रियामा निर्भर रहने उनले बताएका छन्।

फागुन ४, २०८२ सोमबार १०:३७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।