सर्लाहीको मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा
काठमाडौं : सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक सरकारी इन्जिनियरको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट मृत्यु भएको हो।
सिरहाको सुखीपुर नगरपालिका-६ घर भई मलंगवा-१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्दै आएका यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा यादवलाई अपरिचित व्यक्तिले फोन गरेर डेरा बाहिर बोलाएको र लगत्तै गोली प्रहार गरेको देखिएको छ।
गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हत्याको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले शंकास्पद क्षेत्रलाई 'सिल' गरेर सुक्ष्म अनुसन्धान अगाडि बढाएको जनाएको छ। मृतकको शव हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अपराधीको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सघन रूपमा परिचालन गरिएको जानकारी दिए।
‘हामीले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाएका छौँ र आवागमनमा अत्यन्त कडाइ गरिएको छ’, उनले भने।
सदरमुकामको आवासीय क्षेत्रमै सरकारी कर्मचारीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सुरक्षा संयन्त्रले दोषीलाई पक्राउ गर्न सबै संयन्त्र परिचालन गरेको छ।
फागुन ४, २०८२ सोमबार ०८:५३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।