किसान लक्षित उज्यालो नेपालको घोषणापत्र : डिजिटल आइडी र अनुदान, सिँचाइमा बिजुली निःशुल्क

किसान लक्षित उज्यालो नेपालको घोषणापत्र : डिजिटल आइडी र अनुदान, सिँचाइमा बिजुली निःशुल्क

काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले किसान लक्षित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष घिसिङले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहितको 'किसानमैत्री' योजनाहरू सार्वजनिक गरे।

पार्टीले कृषिमा व्याप्त बिचौलियातन्त्र अन्त्य गर्न र किसानलाई आत्मनिर्भर बनाउन 'डिजिटल आइडी' र 'प्रत्यक्ष अनुदान'को अवधारणालाई मुख्य प्राथमिकतामा राखेको छ।

घोषणापत्र अनुसार, किसानहरूलाई एउटा छुट्टै डिजिटल आइडी उपलब्ध गराइनेछ। राज्यले सिँचाइ, मल, बीउ र बिमाका लागि दिने सबै प्रकारका अनुदान रकम कुनै पनि मध्यस्थकर्ता बिना सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ। यसले अनुदानको दुरुपयोग रोकी वास्तविक किसान लाभान्वित हुने दाबी पार्टीको छ।

५० प्रतिशत क्षेत्र 'जैविक' बनाइने

पार्टीले आगामी पाँच वर्षभित्र नेपालको कुल कृषि क्षेत्रको ५० प्रतिशतलाई जैविक क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ। जैविक उत्पादनको बजारीकरण सुनिश्चित गर्न राज्यले नै लागत मूल्यभन्दा २० प्रतिशत बढी मूल्य दिएर उत्पादन खरिद गर्ने ग्यारेन्टी गर्ने घोषणापत्रमा उल्लेख छ।

विद्युत् क्षेत्रमा दक्खल राख्ने अध्यक्ष घिसिङको नेतृत्वमा रहेको यस पार्टीले कृषि सिँचाइका लागि प्रयोग हुने विद्युत् पूर्ण रूपमा निःशुल्क गर्ने योजना अघि सारेको छ। यस्तै, व्यावसायिक कृषि गर्ने किसानका लागि माछा, कुखुरा तथा बाख्रा पालन, च्याउ र चिया खेतीमा प्रयोग हुने विद्युत्मा विशेष सहुलियत महसुल निर्धारण गरिनेछ।

युवा किसानका लागि स्टार्टअप फन्ड

युवाहरूलाई कृषिमा आकर्षित गर्न पार्टीले 'कृषि सहकारी स्टार्टअप फन्ड' स्थापना गर्ने योजना ल्याएको छ। यस अन्तर्गत युवा किसान समूहले ५ वर्षका लागि २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण प्राप्त गर्न सक्नेछन्।

"हामीले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन खोजेका हौँ। किसानको पसिनाको उचित मूल्य र राज्यको सुविधा सिधै किसानकै हातमा पुग्ने सुनिश्चितता उज्यालो नेपाल पार्टीले गर्नेछ," अध्यक्ष घिसिङले भने।

फागुन ३, २०८२ आइतबार १७:४६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।