दुई पटकको विश्वविजेता वेस्ट इन्डिजलाई हराउनैपर्ने दबाबमा नेपाल

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजलाई हराउनैपर्ने दबाबमा नेपाल

काठमाडौं : आइसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाली टोलीले आफ्नो तेस्रो खेलमा आइतबार दुई पटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्दैछ। भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको सुपर- ८ को दौडमा कायम रहन नेपालका लागि आजको खेल निर्णायक मानिएको छ। समूह ‘सी’मा रहेको नेपालले आफ्ना सुरुवाती दुई खेलमा हार बेहोरेका कारण आजको खेल ‘गर या मर’को स्थितिमा छ। आज पराजित भएमा नेपाल एक खेल अगावै प्रतियोगिताको समूह चरणबाट बाहिरिनेछ।

नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार बेहोर्न पुग्यो। हालसम्म अंक जोड्न नसकेको नेपाल समूहको अन्तिम स्थानमा छ।

अर्कोतर्फ, वेस्ट इन्डिज लगातार दुई जितसहित ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। उसले इङ्ग्ल्यान्डलाई दुई पटक पराजित गर्दै बलियो लय प्रदर्शन गरिसकेको छ। आजको खेल जितेमा वेस्ट इन्डिज एक खेल बाँकी छँदै सुपर- ८ मा पुग्ने निश्चित हुनेछ।

नेपालका लागि वेस्ट इन्डिज परिचित प्रतिद्वन्द्वी हो। यसअघि यूएईमा भएको तीन खेलको टी-२० शृङ्खलामा नेपालले वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेको थियो। वेस्ट इन्डिजका वर्तमान टोलीमा रहेका अकिल हुसेन र जेसन होल्डर नेपाली टोलीको क्षमतासँग परिचित छन्। कप्तान शाइ होपको नेतृत्वमा रहेको वेस्ट इन्डिज आफ्नो आक्रामक ‘पावर हिटिङ’ ब्याटिङका लागि विश्व प्रसिद्ध छ।

नेपाली टोलीका लागि ओपनर कुशल भुर्तेलको लय र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण हुनेछ। बलिङतर्फ स्पिनर सन्दीप लामिछानेको भूमिका निर्णायक रहने अपेक्षा गरिएको छ। इटालीसँगको हारपछि दबाबमा रहेको नेपाली टोलीलाई आजको खेलमा पुनरागमन गर्ने चुनौती र अवसर दुवै छ।

फागुन ३, २०८२ आइतबार ०८:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।