दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, न्युजिल्याण्डको पहिलो हार
काठमाडौं : दक्षिण अफ्रिकाले टी-२० विश्वकप २०२६ मा आफ्नो विजयी यात्रा कायमै राख्दै लगातार तेस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो।
यो जितसँगै दक्षिण अफ्रिका समूह 'डी'को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने न्युजिल्याण्ड दोस्रो स्थानमा झरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १७६ रनको विजय लक्ष्य १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले छक्का प्रहार गर्दै खेल टुङ्ग्याए। एडेन मार्करामले कप्तानी पारी खेल्दै अविजित ८६ रन बनाए। उनले ४४ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, डेभिड मिलर २४ रनमा अविजित रहे।
यसअघि, डेवाल्ड ब्रेभिस (२१ रन) लाई रचिन रवीन्द्रले, रायन रिकेल्टन (२१ रन) लाई जिमी निसमले र क्विन्टन डी कक (२० रन) लाई लकी फर्गुसनले पेभिलियन फर्काएका थिए।
न्युजिल्याण्डका तर्फबाट मार्क च्यापम्यानले सर्वाधिक ४८ रन बनाए। त्यस्तै, ड्यारिल मिचेलले ३२ र फिन एलेनले ३१ रनको योगदान दिए। बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को यानसनले ४ विकेट लिए।
फागुन २, २०८२ शनिबार २२:५२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।