अन्तरजातीय विवाह : 'बुबाले मेरो श्रीमानको हत्या गर्नुभयो, मलाई जिउँदो लास बनाउनुभयो'
भारतको बिहारस्थित दरभंगा मेडिकल कलेज परिसरमा एक युवकको गोली हानी हत्या गरियो। अन्तरजातीय विवाह गरेका कारण राहुललाई उनका ससुरा प्रेमशंकरले गोली प्रहार गरे। प्रेमशंकरले आफ्नै छोरीकै अगाडि ज्वाइँमाथि गोली चलाए।
अन्तरजातीय विवाह गरेको झोकमा गरिएको हत्याको यस घटनाले जातीय संकीर्णतामा जकडिएको समाजको कठोर वास्तविकतालाई पुनः उजागर गरेको छ। यतिबेला मृतककी पत्नी तनुप्रिया आफ्ना श्रीमानको न्यायका लागि लडिरहेकी छन्।
मित्रतादेखि प्रेम हुँदै दुःखद अन्त्यसम्म
तनुप्रिया र राहुलको भेट दरभंगा मेडिकल कलेजमा भयो। राहुल तनुभन्दा एक वर्ष सिनियर थिए। मेडिकल कलेजमा उनीहरूबीच सुरुमा सामान्य चिनजान भयो। राहुलले तनुलाई पढाइमा सहयोग गर्थे। उनीहरू दुवैलाई 'बुलेट' बाइक चलाउने सोख थियो। राहुलसँग 'बुलेट' बाइक थियो।
उनीहरू बाइकमा घुमफिर गर्न थाले। बुलेट बाइक र आपसी सहयोगले उनीहरूलाई नजिक ल्यायो। कलेजमा उनीहरूको मित्रता चर्चाको विषय बन्यो।
बिस्तारै तनुप्रिया र राहुलको मित्रता प्रेममा परिणत भयो। तर, उनीहरूको प्रेममा 'जाति' बाधक बन्यो। तनुप्रिया सहरसाको एक ब्राह्मण परिवारकी छोरी हुन्। राहुल सुपौलका एक सामान्य किसान परिवारका थिए, जो 'मण्डल' समुदायका थिए। कलेजभित्रैबाट उनीहरूको प्रेम सम्बन्धको खबर तनुप्रियाका बुबा प्रेमशंकर झासम्म पुर्याइयो। तनुप्रियाको परिवारले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गर्यो।
सन् २०२४ मार्च २७ मा तनुप्रिया घर जाँदा परिवारले उनलाई राहुलसँगको सम्बन्ध तोड्न दबाब दिए। उनलाई राहुलमाथि 'बलात्कार' को झुटा मुद्दा हाल्न दबाब दिइयो। तर, तनुप्रियाले आफ्नो प्रेमको साथ छोडिनन्। उनले घरबाट विद्रोह गरिन् र लखीसरायको अशोकधाममा गएर राहुलसँग विवाह गरिन्। उनीहरूले केवल धार्मिक विधि मात्र पुरा गरेनन्, सुपौल अदालतमा शपथ पत्र बनाएर र प्रहरी समक्ष 'राजीखुसीले विवाह गरेको' बयान (१६१ र १६४ को बयान) दर्ता गराएर आफ्नो सम्बन्धलाई वैधानिकता दिए।
विवाहपछि दुवै कलेज फर्किए। राहुलले तनुप्रियालाई नर्सिङसँगै लोकसेवा (UPSC)को तयारीका लागि प्रोत्साहन गरिरहे। उनले तनुका लागि ट्याब किनिदिए र सधैँ अध्ययनमा केन्द्रित हुन हौसला दिन्थे। उनीहरू आफ्नो भविष्य निर्माणमा जुटिरहेका थिए।
अगस्ट ५ मा अचानक कलेज परिसरमै मास्क लगाएर आएका एक व्यक्तिले राहुलमाथि गोली प्रहार गरे। प्रत्यक्षदर्शी तनुप्रियाका अनुसार, उनकै अगाडि राहुलमाथि गोली चलाइयो र उनी तनुको काखमै ढले। घटनास्थलमै रहेका विद्यार्थीहरूले आक्रमणकारीलाई समातेर मास्क हटाउँदा उनी तनुप्रियाकै आफ्नै बुबा प्रेमशंकर झा भएको पुष्टि भयो।
"बेलुका म क्यान्टिन जाँदै थिएँ, तब हामी दुवैले एक-अर्कालाई आमनेसामने देख्यौं। मैले देखेँ कि एक जना मान्छे मास्क लगाएको छ। उसले राहुललाई पटक-पटक सोधिरहेको थियो- यो बुलेट कसको हो," घटना सम्झिँदै उनी भन्छिन्, "राहुल उसलाई मास्क हटाउन भनिरहेका थिए। त्यत्तिकैमा उसले बन्दुक निकालेर राहुललाई गोली हान्यो। राहुल मतिर दौडिए र म उनीतिर। उनी मेरो काखमै आएर ढले। हामीले उनलाई इमर्जेन्सी वार्डमा लग्यौं। विद्यार्थीहरूले ती व्यक्तिलाई समाते। उनको मास्क हटेपछि देखेँ- उनी मेरा बुबा रहेछन्। मेरा बुबाले मेरो श्रीमानको हत्या गर्नुभयो।"
राहुलको उपचारका क्रममा मृत्यु भयो। उनी भन्छिन्, "मेरो बुबाले मेरो श्रीमानलाई मारिदिनुभयो र मलाई जिउँदो लास बनाएर छोडिदिनुभयो। म चाहन्नँ कि कसैले मलाई हत्याराको छोरी भनोस्।"
राहुलका बुबा गणेश मण्डलको जाहेरीका आधारमा प्रहरीले तनुप्रियाका बुबा, आमा र दुई भाइलाई अभियुक्त बनाएको छ। मुख्य अभियुक्तका रूपमा बुबा प्रेमशंकर झा हाल दरभंगा जेलमा छन्। अदालतले उनको जमानत याचिका खारेज गरिसकेको छ।
आमा गुञ्जन कुमारीलाई पटना उच्च अदालतबाट जमानत प्राप्त भएको छ। भाइहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। तनुप्रिया अहिले राहुलको घर तुलापट्टीमा छन्। =बीबीसी हिन्दीबाट
फागुन २, २०८२ शनिबार १८:३६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।