लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेकाे अपिल

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेकाे अपिल

काठमाडौं : एमालेले लोकप्रियतावादको भ्रमबाट सचेत रहन आह्वान गरेको छ। 

एमालेले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति सचेत रहन अपिल गरेको हाे। 

राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहने  विज्ञप्तिमा उल्लेख गरेकाे छ। 

एमाले सबै मतदातासमक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विवेकपूर्ण ढंगले मताधिकारको प्रयोग गर्न अनुराेध गरेकाे छ।

“विश्वभरका धेरै र दक्षिण एसियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ,” एमालेले विज्ञप्तिमा भनेको छ, “स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ।” 

फागुन २, २०८२ शनिबार १४:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।