केन्द्रीय कारागारको महिला सेलमा दुई ‘चौकीदार’ बीच झडप, छुरा हानाहानको आशंका

केन्द्रीय कारागारको महिला सेलमा दुई ‘चौकीदार’ बीच झडप, छुरा हानाहानको आशंका

काठमाडौं : केन्द्रीय कारागार सुन्धाराको महिला सेलमा कैदीबन्दीहरूको नेतृत्व गर्ने दुई चौकीदारबीच शनिबार झडप भएको छ। कारागारको आन्तरिक प्रशासन चलाउने जिम्मा पाएका दुई महिला चौकीदारबीच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको हो।

जेलभित्र रहेकी एक कैदीले आफ्ना आफन्तलाई दिएको जानकारी अनुसार दुई चौकीदारबीच ‘छुरा हानाहान’ भएको दाबी गरिएको छ। ती कैदीका अनुसार विवाद उग्र बन्दै गएपछि हतियारको प्रयोग भएको थियो।

यद्यपि, कारागार प्रशासनले भने छुरा हानाहानको घटनालाई अस्वीकार गरेको छ। कारागार प्रमुख (जेलर) कृष्ण चापागाईंले दुई चौकीदारबीच सामान्य भनाभन र धकेलाधकेल मात्र भएको बताए।

प्रमुख चापागाईंले भने, ‘दुवै चौकीदार एकैतिर बस्थे। उनीहरूबीच पुरानो लेनदेनको हिसाब नमिलेपछि विवाद भएको हो। सोही क्रममा सामान्य धकेलाधकेल भएको हो, छुरा हानाहान भएको होइन।’

जेलर चापागाईंका अनुसार विवादमा संलग्न दुई चौकीदारमध्ये एकजना ठगी मुद्दामा र अर्का कर्तव्यज्यान मुद्दामा जेल सजाय काटिरहेका हुन्।

जेलको कडा सुरक्षा घेराभित्र ‘छुरा’ कसरी पुग्यो भन्ने प्रश्न उठ्न सक्ने भएकाले प्रशासनले घटनालाई सामान्यीकरण गर्न खोजेको आशंका गरिएको छ।

‘छुरा हानाहान भएको सूचना छ, प्रशासनले सुरक्षा कमजोरी लुकाउन धकेलाधकेल मात्र भनेको हो?’ भन्ने उकेराको प्रश्नमा जेलर चापागाईंले भने, ‘त्यस्तो होइन, कडा सुरक्षा हुन्छ। छुरा त भित्र कसरी गयो होला र!’

घटनापछि कारागारको भित्री सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने विवादको वास्तविक कारणबारे आन्तरिक छानबिन भइरहेको प्रशासनले जनाएको छ।

को हुन् चौकीदार?
कारागारभित्र कैदीबन्दीहरूलाई नियन्त्रण र परिचालन गर्न ‘आन्तरिक प्रशासन’ को व्यवस्था हुन्छ। चौकीदार कारागारभित्रका कैदीबन्दीहरूको आन्तरिक प्रशासन चलाउने सबैभन्दा माथिल्लो र शक्तिशाली पद हो।

कारागार नियमावली अनुसार, जेल प्रशासनले असल चालचलन भएका र तोकिएको कैद भुक्तान गरिसकेका पुराना कैदीहरूमध्येबाट विश्वासिलो व्यक्तिलाई चौकीदार नियुक्त गर्छ।

चौकीदारको मुख्य काम जेलभित्रको व्यवस्थापनमा जेलर र सुरक्षाकर्मीलाई सघाउनु हो। उनीहरूको जिम्मेवारीमा जेलभित्र कैदीहरूबीच हुने झगडा मिलाउने र अनुशासनको रेखदेख गर्ने, कैदीबन्दीहरूलाई सरकारले दिने खाना र अन्य जिन्सी सामानको बाँडफाँट र व्यवस्थापन गर्ने हुन्छ।

यसका साथै, कैदीबन्दीका सानातिना समस्याहरू समाधान गर्ने र ठूला समस्याहरू जेल प्रशासनसम्म पुऱ्याउने पुलको काम गर्ने, जेलभित्रका अन्य तहका कामदार (नाइके, सह-नाइके) हरूलाई काममा खटाउने जिम्मेवारी पनि उनीहरूकै हुन्छ।

नेपालका कारागारहरूमा चौकीदार हुनुलाई निकै आकर्षक र शक्तिशाली मानिन्छ। चौकीदार भएर काम गरेबापत नियमावली अनुसार उनीहरूको कैद सजायमा केही छुट पाइन्छ, जसले गर्दा उनीहरू चाँडै जेलमुक्त हुन सक्छन्।

यसका अलावा  जेलभित्र चल्ने क्यान्टिन, पसल वा अन्य आन्तरिक कारोबारमा चौकीदारको ठूलो प्रभाव र नियन्त्रण हुन्छ। जसका कारण त्यहाँ आर्थिक चलखेलको सम्भावना रहन्छ भने उनीहरूले जेलभित्र अन्य कैदीको तुलनामा अलि सहज रूपमा बस्न, हिँडडुल गर्न र सुविधा उपभोग गर्न पाउँछन्।

फागुन २, २०८२ शनिबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।