ललितपुरमा मिनी ट्रक दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

ललितपुरमा मिनी ट्रक दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

काठमाडौं : ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार गएराति करिब ९ बजे मिनी ट्रक सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा दुई जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनास्थलमै ज्यान गुमाउनेमा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र सोही ठाउँका ४२ वर्षीय गणेश थापा रहेका छन्।

त्यस्तै, गम्भीर घाइते भएका अन्य दुई जनालाई उपचारका लागि पाटन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

अस्पतालमा ज्यान गुमाउने अन्दाजी ४० र ५० वर्षका दुई पुरुषको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन २, २०८२ शनिबार ०८:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।