हरमीत सिंहको घातक बलिङमा अमेरिकाको नेदरल्यान्ड्समाथि ९३ रनको शानदार जित

हरमीत सिंहको घातक बलिङमा अमेरिकाको नेदरल्यान्ड्समाथि ९३ रनको शानदार जित

काठमाडौं : आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को २१ औँ खेलमा संयुक्त राज्य अमेरिकाले नेदरल्यान्ड्समाथि ९३ रनको फराकिलो जित दर्ता गरेको छ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा शुक्रबार राति भएको खेलमा अमेरिकाले बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै एकपक्षीय जित निकालेको हो।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको बलियो योगफल खडा गरेको थियो।

अमेरिकाका लागि साईतेजा मुक्कामल्लाले सानदार ब्याटिङ गर्दै ५१ बलमा ७९ रनको योगदान दिए। उनले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, तल्लो क्रममा शुभम रन्जनेले मात्र २४ बलमा ३ चौका र २ छक्काको मद्दतले विस्फोटक ४८ रन जोडेपछि अमेरिकाले उच्च स्कोर बनाउन सफल भयो। कप्तान मोनांक पटेलले ३६ र शयन जहाँगीरले २० रन जोडे।

नेदरल्यान्ड्सका तर्फबाट बास डी लिडेले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए भने लोगन भान बीक, कायल क्लिन र फ्रेड क्लासेनले १-१ विकेट हात पारे।

१९७ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स अमेरिकी बलरसामु निरीह देखियो। नेदरल्यान्ड्स १५.५ ओभरमा मात्र १०३ रनमा अलआउट हुन पुग्यो।

उसका लागि बास डी लिडेले सर्वाधिक २३ रन, स्कट एडवर्ड्सले २० र म्याक्स ओ'डाउडले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेदरल्यान्ड्सको इनिङ्स ध्वस्त पार्ने क्रममा अमेरिकाका स्पिनर हरमीत सिंह नायक बने। उनले ४ ओभरमा मात्र २१ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए।

त्यस्तै, शाड्ले भान शाल्कवाइकले २.५ ओभरमा २१ रन दिएर ३ विकेट लिए भने मोहम्मद मोहसिनले २ र नोस्थुश केन्जिगेले १ विकेट झारे।

खेलको 'प्लेयर अफ द म्याच' हरमीत सिंह घोषित भए। यो जितसँगै अमेरिकाले समूह 'ए' मा महत्त्वपूर्ण २ अंक जोडेको छ।

फागुन २, २०८२ शनिबार ०७:३३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।