तराईमा मध्यान्हसम्म हुस्सु र कुहिरो, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा सामान्य फेरबदल देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
तराईमा कुहिरो हटेपछि मौसम मुख्यतया सफा रहने भए पनि पहाडी र हिमाली क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने देखिन्छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। ती प्रदेशका केही उच्च स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा तराईका थोरै स्थानमा तुँवालो लाग्ने देखिए पनि देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।
तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण हुनसक्ने सामान्य अवरोधप्रति सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
फागुन २, २०८२ शनिबार ०७:२०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।