जित लगत्तै बीएनपीको भारतसँग आग्रह : 'शेख हसिनालाई सुपुर्दगी गरियोस्'
एजेन्सी : बंगलादेशको आम निर्वाचनमा भारी बहुमतसहित जित हासिल गरेलगत्तै बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन भारतसँग माग गरेको छ।
सन् २०२४ को अगस्टमा चर्किएको विद्यार्थी तथा युवाहरूको सशक्त आन्दोलनका कारण हसिना प्रधानमन्त्री पदबाट अपदस्थ भएकी थिइन्। आन्दोलनपछि सिर्जित विषम परिस्थितिका बीच देश छोड्न बाध्य उनी त्यसयता भारतमा निर्वासित जीवन बिताइरहेकी छन्।
बीएनपीका वरिष्ठ नेता सलाहुद्दीन अहमदले भने, "विदेशमन्त्रीले यसअघि नै उनको सुपुर्दगीको प्रक्रिया अगाडि बढाइसकेका छन् र हामी पनि यसको समर्थन गर्छौं।" उनले भारतलगायत सबै देशसँग पारस्परिक सम्मान र समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध चाहेको बताए।
उनले अगाडि थपे, "हामी सधैँ कानुन अनुसार उनको सुपुर्दगीको माग गर्दछौं। यो दुवै देशका विदेश मन्त्रालयहरू बीचको विषय हो। हामीले भारत सरकारसँग पनि अनुरोध गरेका छौं कि कृपया उनलाई बंगलादेश फिर्ता पठाइदिनुहोस् ताकि उनले मुद्दाको सामना गर्न सकुन्।"
बिहीबार सम्पन्न आम निर्वाचनमा बीएनपीको भारी जित लगत्तै अहमदको यस्तो टिप्पणी आएको हो। २०२४ अगस्टमा भएको आन्दोलनपछि बंगलादेशमा पहिलो चुनाव सम्पन्न भएको छ। -बीबीसी हिन्दी
फागुन १, २०८२ शुक्रबार २२:३१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।