असुरक्षाको कारण देखाउँदै मन्थली रुटमा अरनिकोको बस सेवा बन्द
रामेछाप : नेपाल अरनिको यातायातले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको रुटमा सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।
सुरक्षा जोखिमको कारण देखाउँदै नेपाल अरनिको यातायातले काठमाडौंबाट उक्त रुटमा चल्ने बसको सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ।
कम्पनीले शुक्रबार एक सूचना जारी गरेर रामेछाप मन्थली नगरपालिका- ६ मसानटारमा भएको दुर्घटनाका कारणले अर्को सूचना नआएसम्मका लागि हाललाई क्यूहरु स्थगित गरेको हो।
गत मंगलबार रामेछापको मन्थलीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने सात जना यात्रु घाइते भएका थिए। उक्त दुर्घटनामा परेका तीन जना बेपत्ता छन्। पीडित पक्षसँग छलफलमा समेत नबसेको कम्पनीले सुरक्षाको कारण देखाउँदै बस सेवा स्थगित गरेको छ।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, "नेपाल अरनिको यातायात सेवा प्रा.लि. अन्तर्गत काठमाडौं खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरी सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरू सुरक्षा जोखिम (रामेछाप मन्थली न.पा.-६ मसानटार) दुर्घटनाका कारणले अर्को सूचना नआएसम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको ब्यहोरा सम्बद्ध सम्पूर्ण व्यवसायी, मजदुर, कर्मचारीहरूमा जानकारीको लागि आदेशअनुसार सूचित गरिन्छ।"
फागुन १, २०८२ शुक्रबार १८:२८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।