निषेधाज्ञा तोडेरै विमानस्थलमा पूर्वराजा शाहको स्वागत

निषेधाज्ञा तोडेरै विमानस्थलमा पूर्वराजा शाहको स्वागत

काठमाडौं : झापाको बसाइँ सकेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि त्यसलाई बेवास्ता गर्दै ठूलो संख्यामा समर्थकहरू पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। 

विमानस्थलको आन्तरिक टर्मिनलबाहिर भेला भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए। पूर्वराजालाई स्वागत गर्न 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान'का संयोजक दुर्गा प्रसाईं आफ्ना समर्थकहरूको टोलीसहित विमानस्थल पुगेका थिए। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको पनि विमानस्थलमा उल्लेख्य उपस्थिति रहेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल परिसरमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। 

प्रशासनले निषेधाज्ञा लगाएका कारण प्रहरीले सुरुमा भिडलाई नियन्त्रण गर्ने प्रयास गरे पनि समर्थकहरूको बाक्लो उपस्थितिका कारण कुनै हस्तक्षेप भने गरेन। विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजा शाहले कारको ‘सनरुफ’बाट निस्किएर समर्थकहरूलाई हात हल्लाउँदै अभिवादन गरे।

उनलाई स्वागत गर्न पुगेका समर्थकहरूको भिडका कारण विमानस्थल क्षेत्रको सवारी आवागमन केही समय प्रभावित भएको थियो। विमानस्थलबाट उनी समर्थकहरूको र्यालीसहित आफ्नो निवास निर्मल निवास गए। झापामा विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी भएर उनी शुक्रबार राजधानी फर्किएका हुन्।

फागुन १, २०८२ शुक्रबार १६:०५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।