नेपालको निर्वाचनका लागि टिकटकले थाल्यो ‘इलेक्सन सेन्टर’, भ्रामक सूचना र आचारसंहिता विपरीतका सामग्री हटाउने
काठमाडौं : टिकटकले आगामी आम निर्वाचनलाई लक्षित गर्दै नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको छ।
एपभित्रै उपलब्ध हुने यो विशेष सुविधाले प्रयोगकर्तालाई निर्वाचनसम्बन्धी सही, भरपर्दो र आधिकारिक जानकारी सहजै उपलब्ध गराउने लक्ष्य राखेको छ।
यस पहलका लागि टिकटकले निर्वाचन आयोग, नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
आयोगसँगको प्राविधिक सहकार्यमा विकसित यस सेन्टरमा नेपालको निर्वाचन प्रक्रिया, मतदान गर्ने तरिका, मतदान केन्द्रको जानकारी र भ्रामक सूचना पहिचान गर्ने सुझावहरू समावेश छन्।
यसले प्रयोगकर्तालाई निर्वाचन आयोगको आधिकारिक वेबसाइट र सूचनाहरूसँग सिधै जोड्ने छ भने निर्वाचनसँग सम्बन्धित सर्च र कन्टेन्टहरूमा विशेष ट्याग प्रयोग गरी प्रयोगकर्तालाई आधिकारिक केन्द्रमा मार्गनिर्देशन गर्नेछ।
साथै, नेपालका लागि नै भनेर विशेष ‘इलेक्सन टास्कफोर्स’ परिचालन गरिएको छ, जसले भ्रामक सूचना र आचारसंहिता विपरीतका सामग्री हटाउनेछ।
यसका अलावा एआई निर्मित सामग्रीमा अनिवार्य लेबल लगाउनुपर्ने र भ्रम फैलाउने खालका एआई सामग्रीलाई पूर्ण प्रतिबन्ध लगाउने बताएको छ।
टिकटकका दक्षिण एसियाली सार्वजनिक नीति प्रमुख फेर्दौस मोत्ताकिनले निर्वाचनमा सुसूचित सहभागिता सुनिश्चित गर्न टिकटकले आफ्नो जिम्मेवारी बुझेको बताए।
टिकटकले निर्वाचनको नैतिकता र निष्पक्षता कायम राख्न आयोगका कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरिसकेको छ।
फागुन १, २०८२ शुक्रबार १४:०८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।