हलमा एकसाथ तीन नेपाली फिल्म : ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’
काठमाडौं : यो शुक्रबारबाट देशभरका सिनेमा हलमा तीन वटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
फरक-फरक कथावस्तु र शैलीमा निर्माण भएका ‘बिगुल’, ‘श्री बुकुरो : द होम कलिङ’ र ‘शिवांश’ एकसाथ रिलिज भएका हुन्।
समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा तयार भएको हो।
फिल्मले मूलतः भ्रष्टाचारविरुद्धको आवाजलाई पर्दामा उतारेको छ। दिनेश कोइरालाको लगानी रहेको यस फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल लगायतका कलाकारको मुख्य अभिनय छ।
‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म निर्देशन गरिसकेका सुदीप भुपाल सिंहको निर्देशनमा बनेको ‘श्री बुकुरो : द होम कलिङ’ पनि आजैबाट प्रदर्शनमा आएको छ।
आफ्नो थातथलो र जरोको खोजीको कथा बोकेको यस फिल्मको मुख्य आकर्षण वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी हुन्, जसलाई फिल्मको शीर्ष भूमिकामा देख्न सकिन्छ।
रुवि सेन सिंहको लगानी रहेको फिल्ममा लक्ष्मी गिरीका साथै आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय रहेको छ।
प्रचारप्रसारमा खासै चर्चा नभए पनि फिल्म ‘शिवांश’ पनि शुक्रबारबाटै दर्शकमाझ आएको छ। कुमार आत्रेयको निर्देशन र अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यो फिल्ममा अभिनेता प्रवीण खतिवडा मुख्य भूमिकामा छन्।
उनलाई तेज गिरी र रुषा न्यौपानेले साथ दिएका छन्। न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यो फिल्म शिवरात्रिको सन्दर्भ पारेर रिलिज गरिएको हो।
यी तीन नयाँ फिल्मका अलावा हलमा यसअघि नै प्रदर्शनमा आएका ‘आ बाट आमा’, ‘कुमारी’, ‘रमिताको पिरती’ लगायतका नेपाली तथा केही हिन्दी फिल्महरू पनि प्रदर्शनरत छन्।
फागुन १, २०८२ शुक्रबार ११:५६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।