जेनजी आन्दोलन : सम्भव सिरोहियाको घरमा जलेको थियो चार वटा लक्जरी कार, लुटिएको थियो ३५ तोला सुन र ३१ केजी चाँदी

जेनजी आन्दोलन : सम्भव सिरोहियाको घरमा जलेको थियो चार वटा लक्जरी कार, लुटिएको थियो ३५ तोला सुन र ३१ केजी चाँदी

काठमाडौं : जेनजी आन्दोलनमा भएको अराजकताको फाइदा उठाउँदै कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको निजी निवासमा भएको भयानक आगजनी र करोडौंको लुटपाट भएको छ।

मण्डिखाटारस्थित सिरोहियाको निवासमा प्रवेश गरी करिब साढे १४ करोड रुपैयाँ बराबरको धनमाल क्षति पुर्याउने र चोरी गर्ने कार्यमा संलग्न ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘आपराधिक उपद्रव तथा चोरी’ सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तयार पारेको र अदालतमा दर्ता भएको अभियोगपत्र अनुसार (मुद्दा नं. ०८२/०८३-१४२०), भदौ २४ गते भएको उक्त घटनामा संलग्न मुख्य अभियुक्तहरू र चोरीको सामान खरिद गर्ने सुनचाँदी व्यवसायीसहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

सरकारी वकिल कार्यालयले दायर गरेको पूरक अभियोगपत्रमा काठमाडौंको बाँसबारीका ३५ वर्षीय सुजन डंगोल, ३५ वर्षीय विवेक थापा, धादिङका ३३ वर्षीय गोपाल थापा, चोरीको सामान किन्ने गोरखाका २५ वर्षीय रोजिस घिमिरे र धनकुटाका ३० वर्षीय प्रज्वल रोगुहरूविरुद्ध अभियोग लगाइएको छ।

यसै प्रकरणमा पक्राउ परेका अर्का व्यक्ति मविन गुरुङको हकमा भने संलग्नता पुष्टि हुने प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरिएको छ।

अभियोगपत्रमा उल्लेखित घटना विवरण अनुसार, २०८२ भदौ २४ गते ‘जेनजी आन्दोलन’ उत्कर्षमा थियो। दिउँसो करिब १ बजेदेखि राति १० बजेसम्मको समयमा आन्दोलनकारीको एक समूहले काठमाडौं-४ मण्डिखाटारस्थित सम्भव सिरोहियाको निवासलाई निशाना बनायो।

भिडले घरको कम्पाउण्डभित्र प्रवेश गरी त्यहाँ पार्क गरिएका विलासी सवारी साधनहरूमा आगो लगायो। आगजनीबाट बा.प्र.०१-०३० च ०५१४ नम्बरको डिपल, बा १७ च ५६७८ नम्बरको ज्यागुअर, प्र.३-०१-०२३ च २२३ नम्बरको ह्युन्डाई र बा.प्र.०३-००१ च ०४४४ नम्बरको ल्याण्ड रोभर डिस्कभरी कार पूर्ण रूपमा जलेर नष्ट भए।

सवारी साधनको मात्रै अनुमानित क्षति ५ करोड २९ लाख १० हजार रुपैयाँ बराबरको रहेको अभियोगपत्रमा उल्लेख छ।

त्यति मात्र होइन, भिडले घरको मुख्य ढोका फोडेर भित्र पसी फर्निचर, सोफा सेट, डाइनिङ टेबल, इलेक्ट्रोनिक सामानहरू तोडफोड गर्नुका साथै घरमा आगो लगाइदिएको थियो।

आगजनीबाट भवन र भित्री संरचनामा मात्रै करिब ३ करोड ३५ लाख र अन्य घरायसी सामानहरू (लत्ताकपडा, जुत्ता, ग्याजेट्स आदि) गरी ३ करोड बराबरको क्षति भएको मुचुल्कामा उल्लेख छ।

आगोको लप्काबीच लुटपाट
घरमा आगो लागिरहेको र तोडफोड भइरहेको अवस्थामा प्रतिवादीहरू सुजन डंगोल, विवेक थापा, गोपाल थापा र प्रज्वल रोगु घरको दोस्रो तलामा प्रवेश गरेका थिए।

प्रतिवादीहरूको बयान अनुसार, उनीहरूले दोस्रो तलाको कोठामा रहेको एउटा टिनको बाकस फेला पारे। उक्त बाकस बोकेर उनीहरू नजिकैको खाली जग्गामा पुगे र खोलेर हेर्दा त्यहाँ चाँदीका सिक्काहरू, क्यामेरा र अन्य धातुका गरगहनाहरू फेला पारे।

लुटिएका सामानहरूमा चाँदीका गहना २० थान, चाँदीको सिक्का ३१ केजी, सुन ३५ तोला, विभिन्न ब्राण्डका घडी ३२ थान, हिराका औँठी तथा सेटहरू लगायतका करिब २ करोड रुपैयाँ बराबरका बहुमूल्य वस्तुहरू थिए।

लुटपाटमा संलग्न समूहले चाँदीका सिक्काहरू आपसमा बाँडेका थिए।

अभियोगपत्र अनुसार, उनीहरूले लुटिएका मध्ये करिब १८ किलो चाँदीका सिक्काहरू लुकाउन नसकेपछि चक्रपथ युवा क्लबका अध्यक्ष विकास गुरुङमार्फत प्रहरीलाई बुझाएका थिए। तर, बाँकी सिक्का र बहुमूल्य वस्तुहरू उनीहरूले आ-आफ्नो डेरामा लुकाएर राखेका थिए।

प्रहरीको अनुसन्धान टोलीले पक्राउ परेका प्रतिवादीहरूको कोठा खानतलासी गर्दा लुटिएका सामानहरू बरामद गरेको छ। प्रहरीले सुजन डंगोलको कोठाबाट ‘कान्तिपुर’ लेखिएको चाँदीको सिक्का १३ थान, राधाकृष्णको चित्र भएको सिक्का, र अन्य ऐतिहासिक सिक्काहरू समेत बरामद गरेको छ।

यस्तै, गोपाल थापाको कोठाबाट ‘कान्तिपुर’ लेखिएको चाँदीका ३३ थान सिक्का, जर्ज भाइकिङ इम्पेरर, भिक्टोरिया एम्प्रेस लेखिएका पुरातात्विक महत्वका चाँदीका सिक्काहरू र चाँदीको लकेट बरामद गरेको छ।

यसका अलावा प्रहरीले विवेक थापाको कोठाबाट ‘कान्तिपुर’ लेखिएका ४०४ थान चाँदीका सिक्काहरू, सोनीको ह्यान्डी क्याम, र विभिन्न प्रकारका धातुका गरगहनाहरू तथा प्रज्वल रोगुको कोठाबाट निकोनको क्यामेरा बरामद गरेको थियो।

सुन पसलेको भूमिका
लुटपाटमा संलग्न विवेक थापाले महाराजगन्जमा सुन पसल सञ्चालन गर्ने रोजिस घिमिरेलाई १० तोला बराबरको चाँदीका सिक्का दिएर त्यसलाई पगाली ३ वटा सिक्री बनाउन लगाएका थिए।

अनुसन्धानका क्रममा प्रहरीले रोजिसको पसलबाट ती सिक्रीहरू र बाँकी रहेका ९ वटा सिक्का बरामद गरेको छ। रोजिसलाई चोरीको सामान हो भन्ने जान्दाजान्दै खरिद तथा कारोबार गरेको अभियोग लगाइएको छ।

पीडित सम्भव सिरोहियाले जाहेरीमा आफ्नो कुल १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन्। बरामद भएका १८ किलो चाँदी र अन्य केही सामान बाहेक बाँकी नोक्सानीको भरपाई प्रतिवादीहरूबाटै गराउनुपर्ने माग गरिएको छ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरू सुजन डंगोल, विवेक थापा, गोपाल थापा र प्रज्वल रोगुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ (आपराधिक उपद्रव) र दफा २४१ चोरी अन्तर्गत कारबाहीको माग गरेको छ।

दफा २८५ (३) (घ) बमोजिम आगजनी गरी आपराधिक उपद्रव गरेको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना अनि दफा २४२ (२) बमोजिम चोरी कसुरमा तीन ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ।

त्यस्तै, चोरीको सामान किन्ने/राख्ने रोजिस घिमिरेलाई दफा २४६ (क) बमोजिम कसुर गरेको ठहर गर्दै दफा २४२ (२) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरिएको छ।

फागुन १, २०८२ शुक्रबार १०:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।