खेललाई हतियार बन्न नदिन भारतसँग नखेल्ने निर्णय गरेका थियौं : पाकिस्तान

खेललाई हतियार बन्न नदिन भारतसँग नखेल्ने निर्णय गरेका थियौं : पाकिस्तान

एजेन्सी : पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले खेललाई राजनीतिक हतियार बन्नबाट रोक्नकै लागि पाकिस्तानले भारतविरुद्ध म्याच नखेल्ने निर्णय गरेको बताएका छन्।

बीबीसी उर्दूका अनुसार, बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उनले क्रिकेटमा राजनीति मिसाउनु वा यसलाई हतियारका रूपमा प्रयोग गर्नु दुःखद भएको टिप्पणी गरे।

प्रवक्ता अन्द्राबीले भने, ‘भारतले बंगलादेशविरुद्ध क्रिकेटलाई हतियारका रूपमा प्रयोग गर्ने कोसिस गरिरहेको छ। हाम्रो निर्णय भनेको क्रिकेटमा राजनीतिलाई आउन नदिने भन्ने थियो।’

यसअघि, बंगलादेशको समर्थन गर्दै पाकिस्तानले यसै महिनाको सुरुमा १५ फेब्रुअरीका दिन कोलम्बोमा भारतसँग हुने भनिएको टी-२० विश्वकपको खेल खेल्न अस्वीकार गरेको थियो।

भारतमा खेल्दा बंगलादेशको सुरक्षा चिन्तालाई बेवास्ता गर्दै बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्नु अनुचित भएको पाकिस्तानको तर्क थियो।

तर, ८ फेब्रुअरीमा लाहोरमा आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम र पाकिस्तान क्रिकेट बोर्डका अधिकारीहरूबीच भएको बैठकपछि पाकिस्तानले आफ्नो निर्णय परिवर्तन गरेको हो।

आईसीसीले बंगलादेश क्रिकेटमाथि भएको अन्यायलाई सम्बोधन गर्ने आश्वासन दिएपछि मात्र आफूहरू भारतसँग खेल्न सहमत भएको पाकिस्तानले दाबी गरेको छ।

फागुन १, २०८२ शुक्रबार ०७:३८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।