किसानले मोबाइलबाट पाउने भए कृषि परामर्श
काठमाडौं : देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन्।
सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको हो। हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन्।
यस प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर तथा कृषि चीना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध हुन्छन्। जसले किसानलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकीरा तथा बाली समस्या पहिचान र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमूल्याङ्कन गर्न सक्षम बनाउँछ।
सहकार्यले देशका प्रत्येक जिल्लाका किसानहरूले आफ्नो मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने छन्। उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हात हातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ।
एनसेलको बृहत् नेटवर्क पहुँच र लाखौँ सक्रिय ग्राहकहरू भएकाले अब सुपर कृषकका प्रिमियम सेवाहरू आम किसानलाई एक भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ। किसानहरूले सुपर कृषक एपमार्फत यो सेवा लिन सक्छन्।
यस एपमा विभिन्न अवधिका सदस्यता प्याकेजहरू उपलब्ध छन्। एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १,५६० रुपैयाँ खर्चिनुपर्नेछ। त्यस्तै छ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ भुक्तानी गरी कुल ८४० रुपैयाँ तिर्नुपर्नेछ।
एकमुष्ट भुक्तानी गर्ने किसानहरूले भने छ महिनाको लागि ७५६ रुपैयाँ तथा एक वर्षको लागि १,२४८ रुपैयाँ तिरेर सेवा लिन सक्छन्। आफूलाई उपयुक्त सेवा लिएपछि लागू हुने शुल्क मेन ब्यालेन्सबाट कटौती हुन्छ। किसानहरूले प्रिमियम सेवाअन्तर्गत आधुनिक कृषि प्रविधिबारे विस्तृत तथा चरणबद्ध सिकाइ सामग्री समेटिएका तालिम मोड्युलहरूको लाभ उठाउन सक्छन्।
त्यस्तै कृषि डाक्टर सुविधामार्फत कृषकहरूले ८०० भन्दा बढी बालीका रोग किरा तथा अन्य समस्याहरूको पहिचान एआईमार्फत गर्न सक्छन्। यो सेवाले बाली समस्या पहिचान गरिसकेपछि आवश्यकता अनुसार समाधानका उपायहरू पनि सुझाउँछ। त्यस्तै किसानहरूले स्थानीय भाषामै तथ्यमा आधारित व्यक्तिगत परामर्श आफूलाई आवश्यक परेको समयमा प्राप्त गर्न सक्छन्।
एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै १ लाख २० हजारभन्दा बढी किसानसम्म पुर्याउने लक्ष्य राखेका छन्। यो महत्त्वपूर्ण कदमले कृषि सम्बन्धी ज्ञान अभिवृद्धि गर्न, किसान र विशेषज्ञबिचको दूरी घटाउन साथै ग्रामीण नेपालमा रहेको डिजिटल खाडल कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
माघ २९, २०८२ बिहीबार २१:५२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।