अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीलाई आईसीसीको कारबाही
काठमाडौं : भारत र श्रीलंकामा जारी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिका विरुद्धको खेलमा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अफगानिस्तानका अनुभवी अलराउन्डर मोहम्मद नाबीलाई जरिवाना गरिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)का अनुसार नाबीलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो।
उनलाई आईसीसी आचारसंहिताको ‘लेभल १’ अन्तर्गत अम्पायरको निर्देशन पालना नगरेको आरोपमा यो कारबाही गरिएको हो।
भएको के थियो?
अफगानिस्तानको ब्याटिङ चलिरहेका बेला १४ औं ओभरको सुरुमा यो घटना भएको थियो।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुङ्गी एनगिदीले हातमा लगाएको रिस्ट ब्यान्डलाई लिएर नाबीले अम्पायरहरूसँग विवाद गरेका थिए।
अम्पायरले दिएको निर्देशन र स्पष्टीकरणलाई बेवास्ता गरेपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो। नाबीले आफ्नो गल्ती स्वीकारेकाले थप सुनुवाइको आवश्यकता नपरेको आईसीसीले जनाएको छ।
उक्त खेलमा दुई पटकसम्म सुपर ओभर भएपछि मात्र दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध कठिन जित निकालेको थियो।
माघ २९, २०८२ बिहीबार १४:१०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।