प्रशासन र पीडितपक्षबीच सहमति भएपछि मन्थलीमा यातायात सुचारु
रामेछाप : रामेछापस्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीय प्रशासन र पीडित परिवारबीच सहमति भएको छ।
दुई पक्षबिच भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने सहमति भएकाे हाे।
सो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। ८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्ति, उपचार, कानुनी कारबाही तथा खोजीकार्यका विषयमा सहमति नहुँदा मृतकको शव परीक्षण हुन सकेको थिएन। सहमतिपछि अस्पतालमा रहेका शव परीक्षण गरी आफन्तलाई बुझाउने प्रक्रिया सुरु गरिने प्रशासनले जनाएको छ। सहमति भएसँगै अवरुद्ध यातायात सेवा संचालन भएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा जिल्ला सुरक्षा समिति, नेपाल अरनिको यातायात सेवा प्रा।लि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा पीडित परिवारका सदस्य सहभागी थिए।
सहमति अनुसार सवारी दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले व्यवस्था गर्ने र थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्षलगायत सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुसहित यातायात सेवा प्रा.लि. सँग वार्ता हुनेछ। उपचारमा कुनै कमी नहुने गरी नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले तत्काल आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै, अस्पतालमा रहेका मृतकहरुको शव परीक्षण गरी दाहसंस्कारका लागि सम्बन्धित आफन्त तथा परिवारहरुको सहमति र सहजीकरणमा शव हस्तान्तरण गर्ने, सवारी चालकलाई प्रचलित कानून बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउने, सवारी दुर्घटनामा हराइरहेका आशंका गरिएका यात्रुहरुको खोजी कार्य जारी राख्ने र हराइरहेका यात्रुहरुको सम्बन्धमा मृतकसरह मानी नियमानुसार क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराउने सहमति पनि भएको छ।
सवारी दुर्घटना सवारी चालकको लापरबाही कारणले भएको भनी पीडित पक्षले दाबी गरे बमोजिमको थप सुविधा उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने, पीडित पक्षबाट प्राप्त माग पत्र/निवेदन कार्यान्वयन र सहजीकरणका लागि सम्बन्धित यातायात सेवा प्रा.लि., गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने साथै पीडित पक्षहरुबाट हाल गरिएका विरोधका कार्यक्रमहरू स्थगित गर्ने सहमति भएको छ ।
सवारी सञ्चालनबारे थप निर्णय
दुर्घटनापछि सवारी सञ्चालन र सुरक्षा व्यवस्थासम्बन्धी थप निर्णयसमेत गरिएको छ । सवारी साधन सञ्चालन गर्दा यात्रुको जीउधन जोखिममा पार्ने गरी अटेर गरी चलाएको पाइएमा प्रचलित कानुनबमोजिम सवारी दर्ता खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गरिनेछ ।
यसैगरी, रामेछाप भित्रिने तथा जिल्लाभित्र सञ्चालन हुने सवारी साधनमा सीमा नाका तथा अन्य चेकपोइन्टमा प्रहरी इकाइबाट अनिवार्य चेकजाँच गर्ने, यात्रु संख्या, सवारी प्रवेशको समयलगायतका विवरण अभिलेख राख्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने सहमति भएको छ ।
प्रशासनले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
माघ २९, २०८२ बिहीबार १३:५८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।